धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २२ औं सँस्करण आगामी मंसिर १९ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको आयोजक धरान फुटबल क्लबका अनुसार २२ औं सँस्करण आगामी मंसिर १९ गतेदेखि २८ गतेसम्म हुने भएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मोफसलमा आयोजना हुने प्रतियोगिताहरुको खेल तालिका तयार गर्ने क्रममा पठाएको खेलतालिका अनुसार मंसिर १९ देखि २८ गतेलाई आयोजना मिति चयन गरेको क्लबले जनाएको छ । महासचिव प्रताप तामाङले प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले पठाएको मितिहरुमध्ये प्रस्तावमध्ये क्लबको बुधबार बसेको बैठकले मंसिर १९ लाई चयन गर्ने निर्णय गरेको उल्लेख छ ।

एन्फाले यसबर्षदेखि मोफसलमा आयोजना हुने प्रतियोगिताहरुको लागि नियमावली बनाएको छ । साथै, सोही नियमावलीअन्र्तगत नै रहेर एन्फाले मोफसलमा आयोजना हुने प्रतियोगिताहरुको लागि आयोजकलाई खेल तालिका प्रस्ताव गरेको थियो । विगतमा खेल तालिका नमिल्दा विभिन्न क्लबहरुले एउटा गोल्डकप खेल्दा खेल्दै अर्को गोल्डकप खेल्न पुग्नुपर्ने बाध्यता रहेको थियो ।

धरान १६ स्थित रंगशालामा हुने २२ औं सँस्करणलाई सम्पन्न गराउन विभिन्न उपसमितिहरु पनि सो बैठकले गठन गरेको महासचिव तामाङले जानकारी दिएका छन् । उनका अनुसार क्लबका सदस्य नरेन्द्र चोङबाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ भने क्लबका सचिव सुदिप उप्रेतीको संयोजकत्वमा २ सदस्यीय मैदान मर्मत उपसमिति गठन गरिएको छ । यसैगरि, टिम तथा होटल व्यवस्थापन उपसमिति क्लबका सदस्य सतिश केसीको संयोजकत्वमा गठन गरिएको छ । सोही बैठकले महासचिव प्रताप तामाङको संयोजकत्वमा २ सदस्यीय प्रचारप्रचार उपसमिति पनि गठन गरिएको क्लबले जनाएको छ ।

प्रतियोगिताको २२ औं सँस्करणमा पुरस्कार राशी वृद्धि हुने क्लबले जानकारी दिदै प्रतियोगिताको तयारी गर्न चाडै सचिवालय पनि गठन गर्ने जनाएको छ । यस्तै, असोज ५ गतेदेखि प्रतियोगिताको तयारी शुरु गर्ने महासचिव तामाङले जारी विज्ञप्तीमा उल्लेख छ ।

तस्बिर क्याप्सन: बुढासुब्बा गोल्डकपको २१ औं सँस्करणको फाइल फोटो ।