लन्डन(बेलायत): याक्थुङ समुदायको सभ्यता सुरु भएको मानिने मुन्धुमी स्थलहरूको संरक्षणका लागि संसारभर छरिएर रहेका युमा साम्योवादीहरूले आवश्यक पहल गर्ने भएका छन् ।

याक्थुङ मुन्धुममा वर्णन हुने मुन्धुमी, ऐतिहासिक र पुरातात्विक स्थलहरूको प्राकृतिक रूपमा संरक्षण सम्बद्र्धनको गरिनुपर्र्ने भन्दै युमा साम्योवादीहरू सक्रिय हुने भएका हुन् । युमा धर्मलाई याक्थुङ(लिम्बु) जातिको मौलिक धर्म भन्दै पछिल्लो समय युमा साम्यो महासभामा सङ्गठित हुँदै आएका युमावादीहरूले मुन्धुममा चर्चा हुने आदिम ठाउँहरूको संरक्षण गर्न आवश्यक नीति र कार्ययोजना निर्माण गरिरहेका छन् । नेपालमा मात्रै नभई संसारभर रहेका युमा साम्योवादीहरूले पनि पूर्वी नेपालमा रहेका आफ्ना आदिम थलोहरूको संरक्षण कार्यमा चासो दिइरहेका छन् ।

लन्डनमा बसेको युमा साम्यो महासभा यूकेको पहिलो पूर्ण बैठकले समेत इम्बिरी याङधाङ्वा(तम्मर) सभ्यताअनुसार वर्णन् भएका याक्थुङ समुदायको प्राचीन थातथलोहरूको संरक्षण अभियान थाल्ने निर्णय गरेको छ । यसका लागि पहिलो चरणमा सोधुङ्गेन लेप्मुहाङले विचरण गरेको मुरिङ्ला खारिङ्ला क्षेत्रलाई याक्थुङ पहिचानको केन्द्रविन्दू मानेर संरक्षण कार्य थालिन लागेको महासभाका यूके अध्यक्ष टङ्क वनेमले बताए ।

उनका अनुसार याक्थुङ मुन्धुमले निर्दिष्ट गरेका अनगिन्ती मुन्धुमी र पुरातात्विक स्थलहरू साँस्कृतिक अतिक्रमण र विकास निर्माणका कारण सङ्कटमा परिरहेका कारण आफूहरूले संरक्षण अभियान घोषणा गरेको कारण खुलाए । सोधुङ्गेन लेप्मुहाङलाई याक्थुङ जातिको सभ्यताको आदिकर्ता मानिन्छ ।
यसैगरी, बैठकले मौलिक चाडपर्वको प्रचारप्रसारमा तीव्रता दिने भन्दै आगामी डिसेम्बर १२ तारिखका दिन चासोक थिसोक तङ्नाम(उधौली)लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । यसका लागि युमा साम्यो महासभा नेपालसँग आवश्यक समन्वय गर्दै संसारभर चाड मनाउने विषयमा एकरूपता कायम गर्ने निर्णय गरेको महासचिव तारा कन्दङ्वाले जानकारी दिए । उनले निकट भविष्यमा समुदायको मुख्य अनुष्ठान मानिने तङ्सिङ् पनि सामूहिक रूपमा आयोजना गर्ने संस्थाको योजना रहेको बताए ।

त्यस्तै, युमा धर्म, मुन्धुम र दर्शनलाई व्यापकता दिँदै दार्शनिक पक्षलाई अझ उजागर गर्न महासभाले मातहत रहने गरी दर्शनशास्त्र तथा प्रशिक्षण विभाग पनि गठन गरेको छ । यसको प्रमुखमा उपाध्यक्ष दिल पालुङ्वालाई जिम्मा दिएको छ । महासभाले आगामी डिसेम्बरभित्र लिम्बु बाहुल्य क्षेत्र मानिने केन्टको आसफोर्डमा जागरण सभा आयोजना राख्ने निर्णय गरेको छ । बैठकले साँस्कृतिक अभियानलाई तीव्रता दिन मिडिया विभाग र साँस्कृतिक विभागलाई परिचालन गर्दै युट्युब च्यानल र वेभसाइट सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

सोही बैठकले अभियन्ता मिजास तेम्बेलाई कोल्चेस्टर क्षेत्रीय प्रतिनिधि समेत तोकेको छ । अन्य क्षेत्रमा सदस्य सङ्ख्या वृद्धि गर्ने निर्णय समेत गरेको महासचिव कन्दङ्वाले बताए । यसअघि, बैठकले जून १५ मा आसफोर्डमा सम्पन्न पहिलो महाधिवेशनको समीक्षा समेत गरेको छ । साम्बा वीरबहादुर आङबुहाङको प्रमुख आतिथ्यमा भएको महाधिवेशनले यूकेमा रहेका मौलिकतावादी याक्थुङहरूलाई सङ्गठित गर्न सफल रहेको बैठकको निष्कर्ष थियो ।

पूर्ण केन्द्रीय समितिको बैठकले अर्थ सचिव जय मादेम्बाले प्रस्तुत गरेको आयतर्फ १४८५ पाउण्ड स्टर्लिङ, व्ययतर्फ ७१६.२३ पाउण्ड स्टर्लिङ भई कुल बैंक मौज्दात ७६८.७७ पाउण्ड स्टर्लिङ रहेको आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । महाधिवेशनले टङ्क वनेमको अध्यक्षतामा २० सदस्यीय कार्य समिति निर्वाचित गरेको थियो । समितिका उपाध्यक्षहरूमा दिलसिं मेन्याङ्वो, दिल बहादुर पालुङ्वा, सरला काम्वाङ, महासचिवमा तारा कन्दङ्वा र सचिवमा महेश वनेम रहेका छन् ।

त्यस्तै, मिडिया सचिवमा अमित थेवे, अर्थ सचिवमा जय मादेम्बा, सह–अर्थ सचिवमा कमल अन्छङ्वो, सँस्कृति विभाग सचिवमा मान तबेबुङ रहेका छन् । सदस्यहरूमा लाहाङ चेम्जोङ, भीम मादेन खेवा, मुतिm सिरेङ चोङवाङ छन् । त्यस्तै, क्षेत्रीय प्रतिनिधिहरूमा सन्तोष वनेम, भक्त बोखिम, हरिभक्त आङबुहाङ, धनकुमार काम्वाङ, गम्भीरध्वोज तुम्बाहाङ्फे, दिलकुमारी मादेन र राजकुमारी लिम्बु रहेका छन् । बैठकमा सल्लाहकारद्वय लोकेन्द्र तबेबुङ र नरेन्द्र मावोहाङको पनि उपस्थिति रहेको थियो ।

यसैगरी, युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिले समेत मुन्धुमी स्थलहरूको संरक्षण गर्न केन्द्रसँग सहकार्य गर्ने निर्णय गरेको महासचिव धनराज साम्याङ्खामले बताए । उनका अनुसार हालै बसेको समितिको बैठकले तत्काललाई करिब डेढ दर्जन बढी स्थलहरूको अध्ययन गर्ने निर्णय गरेको छ । समितिले यस वर्षको चासोक थिसोक पर्वलाई मातहतका सबै १२ प्रवास सङ्गठनहरूमा भव्यतापूर्वक मनाउन निर्देशन दिएको जनाए ।