धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै पुर्वराजनीतिक सहकर्मी डा.बाबुराम भटराईले थाकेर एमालेमा विलय भएको आरोप लगाएका छन् ।

दश बर्षे जनयुद्ध र दोस्रो संविधानसभाबाट संविधा जारी हुँदासम्म एउटै पार्टीमा रहेका डा.भटराईले प्रचण्डले क्रान्तिको वलमा स्थापित पार्टीलाई एमालेमा विलय गराएको टिप्पणी गरे । शुक्रबार धरान १५ स्थित चुम्लुङ हिममा समाजवादी पार्टीको १ नम्बर प्रदेश समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै डा.भटराईले आफ्नै पुर्वसहकर्मी माथि यस्तै टिप्पणी गरेका हुन् । उनले एमाले र माओवादी केन्द्र मिलेर नयाँ पार्टी गठन भएको नभै माओवादीलाई एमालेमा नै विलय गराएको पनि बताए । ‘यो एमाले पार्टी नै हो, नेकपा होइन । प्रचण्ड जी थाकेर एमालेमा विलिन हुन जानुभएको हो,’डा.भटराईले भने ।

samajbadi

क्रान्तिको वलमा सत्ता पुगेपछि भ्रष्टचारको दलदलमा फस्ने, अनैतिक आचरणमा विलिन हुने विकृतिमा जनयुद्ध लडेर आएका नेताहरु पनि फसेको डा.भटराईको आरोप थियो । ‘क्रान्ति र आन्दोलनबाट आएका साथीहरु सत्तामा पुगेपछि झुक्ने, थाकेर विलिन हुने, सुन्नै लाज लाग्ने आचरण र भ्रष्टचारमा लिप्त भएका छन्,’उनले भने,‘अन्य सबै पार्टीको सच्चरित्रवान साथीहरुको सश्लेषण हाम्रो यो समाजवादी पार्टी हो । नहारेका, नथाकेका, उर्जाशिल र भिजन बोकेकाहरुको पार्टी हो ।’

डा.भटराईले आफु प्रधानमन्त्री हुँदा, पार्टीका अध्यक्ष उपेन्द्र यादव पटक पटक मन्त्री हुँदा र अन्य नेताहरु पनि सत्तामा जादा कहिल्यै भ्रष्टचारको दाग नलागेको बताए । कसैले दाग प्रमाणित गरे आफु दण्डित हुन तयार भएको पनि उनले बताए । ‘सत्तामा रहदा अवसर पाउदा पनि हामीले अग्नीपरीक्षा पास गरेर आएका छौं, जनताको पक्षमा काम गरेका छौं,’उनले भने,‘संघीय समाजवादी र नयाँ शक्ति अर्को पार्टीको लागि एकता भएको होइन । भिजन, मिशन र दृष्टिकोण हो, अबको ५० बर्षसम्म नेतृत्व गर्ने पार्टी हो ।’

samajbadi1

समाजवादी पार्टी जातीय, क्षेत्रीय, भौगोलिक विविधता प्रतिनिधित्व गर्ने पार्टी भएकोले नेपालको प्रमुख वैकल्पिक शक्तिकोरुपमा जनताले स्थापित गर्ने पनि उनले धारणा राखे । अन्य पार्टी एकल जातीय र एकल लिंगिय भएकोले राष्ट्रिय पार्टी हुन नसक्ने भटराईको भनाई छ । ‘हिमाल, पहाड, तराई, मधेश, महिला, तेस्रो लिंगी सबैको प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टी समाजवादी पार्टी हो । यो पार्टीमा मधेश, खस, आर्य, आदिबासी जनजाति उत्पीडित सबैको प्रतिनिधित्व छ,’उनले भने ।