बराहक्षेत्र: वराहक्षेत्रनगरपालिकाले गत आर्थिक बर्ष २०७५/०७६ मा खरिद गरेको बारुण यन्त्र (दमकल)लाई सर्वसाधारणहरुले बाँदरको पुच्छरको उपमा दिएका छन् ।

नगरपालिकाले करोडौं रकममा खरीद गरेको दमकल वराहक्षेत्रमा आगलागी हुदा पनि सेवा दिन नसके पछि स्थानीयले वारुण यन्त्रलाई बाँदरको पुच्छर लौरो न त हतियार भन्नथालेका हुन् । शुक्रबार अपरान्ह वराहक्षेत्र–७ देबिघाटमा कमल ढकालको भण्डारण घरमा आगो लाग्यो । आगो लाग्नासाथ स्थानीयले आफ्नै नगरपालिकाको बारुण यन्त्रलाई सम्झिए । तर, नगरपालिकाको कार्यालय चक्रघट्टीबाट करिब ३ किलोमिटरको दुरीमा रहेको घटनास्थलमा उक्त वारुणयन्त्र काम नै लागेन । आगलागी भएको स्थानमा पुग्न त पुग्यो, तर आगो निभाउनै सकेन । इटहरीको वारुणयन्त्र पनि समयमा आइपुगेन ।

स्थानीयबासी रमेश कार्कीका अनुसार वराहक्षेत्रको वारुणयन्त्रको टंकीमा पानी नै थिएन । आउने बितिकै पानी सकियो भनेर पानी भर्न कोशितिर लाग्यो । यता आगोले घर जलिरहेको थियो । दमकल पानी छैन भन्दै पानी भर्न गयो । यसले जब आगो लाग्छ, अनि कुवा खन्ने उखान चरिर्ताथ भएको उनी बताउँछन् । अन्त्यमा स्थानीयबासी, सुरक्षाकर्मीको सहयोगमा इटहरीबाट आएको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । स्थानीयबासीका अनुसार आगो नियन्त्रण लिएपछि मात्र पानी भरेर वराहक्षेत्रको बारुणयन्त्र घटनास्थलमा पुगेको थियो ।

वराहक्षेत्रको वारुणयन्त्रको लापरवाहीको कारण समयमै आगोलाई नियन्त्रण गर्न नसक्दा भण्डारण गरेर राखेको धानसहित कोठा पुर्णरुपमा क्षति हुन पुगेको छ । यो भन्दा अगाडी वराहक्षेत्र–५ माकालाजन्र चौकमा कात्तिक ५ गते राती भिषण आगो लाग्दा पनि वराहक्षेत्रमा रहेको बारुणयन्त्र घटनास्थलमा आउन सकेन । सो समय वराहक्षेत्रमा रहेको वारुणयन्त्रमा सन्चालन नभए पछि आगो नियन्त्रणमा आउन नसकेको बताइएको थियो । वराहक्षेत्रको बारुणयन्त्र आउन नसकेपछि धरान, इनरुवा र इटहरीको बारुणयन्त्रले आगो नियन्त्रण गरेका थिए । यस्तै, वराहक्षेत्र–७ जंगी चौकमा हरि श्रेष्ठको घरमा कात्तिक १६ गते आगो लाग्दा पनि नजिकै रहेको बारुणयन्त्र समयमै घटनास्थलमा आउन सकेको थिएन ।

वारुणयन्त्र जस्तो संवेदनशील साधानबारे लापरबाही भएको बिषयमा बारुणयन्त्र ९८५२०६९९०० नम्बरमा पटक पटक सम्पर्क गर्दा फोन उठेन । बारुणयन्त्र परिचालन गर्ने नगर प्रहरी रनबहादुर बिष्टले तालिम र अनुभवको कमिका कारण केही समय बिलम्ब हुन गएको बताए । उनले आगो लागेको खवर ढिलो आएको र खबर थाहा पाउनसाथ आफुहरु घटनास्थल पुगेको दाबी गरे । गोठमा आगो लागेको कारण आगो नियन्त्रण गर्दागर्दै सानो ६ हजार लिटर टंकी क्षमता रहेको दमकलको पानी सकिएको उनले बताए । बाटो सानो र नहरमा पानी नहुदा कोशीमा पानी भर्न जानुपर्दा ढिलाई भएको पनि उनले बताए । गाडी फसेको कारणले पुनःआउन ढिलाइ भएको र आउदा इटहरीको दमकलले आगो नियन्त्रण गरिसकेको उनको भनाई थियो ।