धरान: किसोरकिसोरी तथा युवाहरुको मुख्य समस्याकोरुपमा रहेको लागुऔषधविरुद्ध प्रहरीले धरानमा कडा कदम चालेको छ । समुदायस्तरमा, स्कुल र कलेजहरुमा पनि लागुऔषधविरुद्ध सचेतना अभियान तथा कार्यक्रमहरु निरन्तर गरिरहेको छ । तरपनि, लागुऔषध सेवन र करोबारीहरुमा कमी आउन सकेको छैन ।

धरानमा दिनहुँजसो लागुऔषधसहित पक्राउ पर्ने प्रहरीको तथ्यांकले पनि अझै धरानमा लागुऔषध सेवनकर्ता र कारोबारीहरु सल्बलाइरहेका छन् भन्ने प्रष्ट हुन्छ । अझ पछिल्लो समयमा त ब्राउन सुगरको कारोबार पनि बढेको संकेत गरेको छ । धरानसहित पुर्वका विभिन्न ठाउँबाट पक्राउ परेकाहरुबाट ब्राउन सुगर वरामद हुन थालेको छ ।

इलाका प्रहरी कार्यालय धरानले हिजो सोमबार एकै दिन विभिन्न समयमा लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार भेडेटार घर भई हाल धरान १६ मा रहदै आएका २७ बर्षीय अमित राई ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनको साथबाट ४.६ ग्राम ब्राउन सुगर र नगद १२ हजार ७ सय समेत बरामद भएको उनले जानकारी दिए ।

यस्तै, इलका प्रहरी कार्यालयका अनुसार धरान १५ का प्रेम तामाङ पनि सोमबार नै ६३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनले पाइन्टको दाहिनेपपिटको गोजीमा प्लाष्टिकमा पोको पारेर राखेको ब्राउन सुगर र मोवाइल प्रहरीले वरामद गरेको थियो । उनीसँगै धरान ८ का २४ बर्षीय सुसन थापा पनि डाईलेक्स डि.सि. ३ बोतल, स्पास्मो प्रोक्सिभन प्लस १८७२ क्याप्सुल, नाईट्रोसन ४ ट्याब्लेट र नगद ३६ हजार ५ सयसहित पक्राउ परेका छन् । उनले झोलामा लुकाएर राखेको अवस्थामा लागुऔषध वरामद भएको थियो ।

यस्तै, धरान–७ का राजु बुढाथोकी धरान–८ तीनकुने नाकाबाट एभिल ३१ एम्पुल, लुपिजेसिक ३१ एम्पुल र डाईजेलाब ३१ एम्पुलसहित समातिएका छन् । पक्राउ परेका सबैलाई आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।