धरान: नवनिवार्चित मेयर तिलक राईले बोलाएको पहिलो कार्यपालिका बैठक आवश्यक कोरम संख्या नपुगेपछि आज शुक्रबार स्थगित भएको छ ।

बहुमत संख्यामा कार्यपालिका सदस्यहरुको उपस्थिति नभएपछि तीन दिनपछि(पुष १४ गते) सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने गरी आजको बैठक स्थगित भएको छ । स्रोतका अनुसार आजको कार्यपालिका बैठकलाई नेकपाबाट निवार्चित उपमेयरसहित कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । बैठकमा नेकपाका एक जना पनि सदस्य उपस्थित भएनन् । कुल ३० सदस्यीय कार्यपालिकामा नेकपाबाट उपमेयरसहित २४ जना सदस्य छन् भन् कांग्रेसबाट मेयरसहित ६ जना मात्र सदस्य छन् । धरानको २० वटा वडाका अध्यक्षहरु कार्यपालिका सदस्य हुन्छन् भने ८ जना नगरसभाबाट निवार्चित भएका छन् । निवार्चित कार्यपालिका सदस्य सबै नेकपाकै छन् । 

प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले गणपुरक संख्या नपुगेपछि १४ गते बिहान सोमबार ८ बजे बस्ने गरि बैठक स्थगित गरिएको जानकारी दिए । ‘गणपुरक संख्या नपुगेर बैठक स्थगित भयो, र पुष १४ गते बिहान ८ बजे बैठक बस्ने भएको छ,’पोखरेलले भने । मेयर तिलक राईले नेकपा पक्षबाट बैठकमा सहभागिता नभएको बिषयमा धेरै बोल्न चाहेनन् । उनले नेकपा पक्षबाट बहिष्कार गरेको नभै कोरम नपुगेर स्थगित भएको बताए । ‘कार्यपालिका सदस्यहरुले नयाँ मेयरलाई बधाई र स्वागत गर्नुपर्ने, आवश्यक तयारी पुगेन भन्ने कुरा आयो, र स्थगित गरियो ।’

मेयर राईले नेकपाबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुले बहिष्कार गरेको खुलाउन नचाहे पनि नेकपाका वडाअध्यक्षहरुले भने मेयर राईले आवश्यक समन्वय र तयारी नगरेकोले आफुहरु बैठकमा नगएको प्रतिक्रिया दिए । ‘उमेयर ज्युसँग पनि एजेण्डाहरुबारेमा आवश्यक समन्वय र सल्लाह भएको रहेनछ, त्यसैले हामीलाई बैठकमा जान सहज नभएकोले नगएका हौं,’वडा नं १२ का अध्यक्ष टंक राईले भने ।

कोरम नपुगेर कार्यपालिका बैठक स्थगित भएपछि मेयर राई र उपमेयर मञ्जु भण्डारी सुवेदीबीच आवश्यक छलफल भएको थियो । दुवैबीच द्धन्द नबढाउने र समन्वय गर्ने समझदारी भएर नै सोमबार बैठकको मिति तोकिएको बताइएको छ । आज कार्यपालिका बैठक नबस्दा नवनिवार्चित मेयर राईले पदभार ग्रहण गर्दा कर समायोजन गर्न एक अध्ययन गरेर सुझाव पेश गर्न बिशेषज्ञ रहेको कार्यदल गठन गर्ने निर्णय पनि पारित हुन सकेन । योसँगै यही पुष २० गतेसम्म ३ दिन धरान डे मनाउने तयारीबारेको निर्णय पनि आज हुन पाएन ।