धरान: कर समायोजन कार्यदल गठनसहितको एजेण्डामािथ छलफल तथा निर्णयको लागि आज धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्दैछ ।

उपमहानगरको कार्यपालिका बैठक दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा आगामी छैटौं नगरसभाको मिति तय गर्ने, कर समायोजन कार्यदल गठन गर्ने, घरनक्सा तथा बाटो मापदण्ड कार्यदल गठन गर्ने महत्वपुर्ण एजेण्डा रहेको छ । यस्तै, सार्वजनिक जग्गा पहिचान तथा खोजविन कार्यदल गठन गर्ने, आर्थिक सहयोग र विविध शिर्षकमा रहेको एजेण्डामा बैठकले छलफल गरी निर्णय गर्नेछ ।

यो बैठकमा प्रस्तुत हुने एजेण्डा कर समायोजन कार्यदल गठनलाई निक्कै महत्वको साथ हेरिएको छ । यो एजेण्डा मेयरमा विजयी भएपछि मेयर तिलक राईले पदभार ग्रहण गर्दा कर समायोजन कार्यदल गठनको प्रस्ताव कार्यपालिका बैठकमा लैजाने निर्णय गरेका थिए । उनको यो निर्णय गएको कार्यपालिका बैठकमा प्रस्तुत नै हुन सकेन । मेयरमा निवार्चित भएपछि मेयर राईले बोलाएको पहिलो बैठक समन्वय नगरी बोलाएको भन्दै नेकपाले बहिष्कार गरेपछि स्थगित भएको थियो । पुनः अर्को पटक बसेको कार्यपालिका बैठकमा कर समायोजन कार्यदल गठनको प्रस्ताव नै समावेश हुन सकेको थिए ।

dhrn 2

आजको बैठकमा भने यो प्रस्ताव समावेश भएको छ । नेकपासँग पनि आवश्यक छलफल गरेर कार्यदल गठनको एजेण्डा ल्याइएकोले निर्णय हुने बताइएको छ । कार्यदल गठनबारे संयोजक नेकपा वा कांग्रेसमध्ये कस्को वडाअध्यक्ष(कार्यपालिका सदस्य)लाई बनाउने भन्ने विवाद थियो । ‘अघिल्लो बैठकमा यो एजेण्डामा छलफल नै भएन । यसपाली चै मेयर र उपमेयरबीच छलफल भएर नै आएकोले निर्णय हुन्छ,’कार्यपालिकाका प्रवक्ता एवं वडा २० का अध्यक्ष मणीराम राईले भने ।

गत मंसिर १४ मा भएको धरानको मेयर पदको उपनिर्वाचनमा कर वृद्धिको एजेण्डाले प्रमुखता पाएको थियो । नेकपा नेतृत्वको सरकारले अत्यधिक कर बढाएको जनगुनासो थियो भने कांग्रेसले सोही जनगुनासोलाई आफ्नो एजेण्डा बनाउदै विजयी भएपछि कर समायोजन(घटाउने) गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नै मेयरले पदभार ग्रहण गर्दा नै कर समायोजन कार्यदल गठनको प्रस्ताव कार्यपालिकामा लैजाने निर्णय गरेका थिए ।