धरान: अरुण पुर्वका ९ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणाको माग गर्दै आइरहेको लिम्बुवानजन्य विभिन्न राजनीतिक संगठनहरुले १ नं प्रदेशको नाम लिम्बुवान किरात राख्न माग गरेको छ ।

आज लिम्बुवान संयुक्त संघर्ष समितिले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै १ नम्बर प्रदेशको नाम लिम्बुवान किरात राख्न माग गरेको हो । संघर्ष समितिमा आवद्ध विभिन्न १० वटा घटक संगठनका नेतृत्वहरुले हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तीमा प्रदेश नं १ लाई हाल साझा पहिचानको आधारमा लिम्बुवान किरात राख्नुपर्ने धारणा व्यक्त गरिएको छ । प्रदेश नं १ भौगोलिक अवस्था, सामाजिक, साँस्कृतिक, ऐतिहासिक एवं पहिचानको आधारमा विगतमा लिम्बुवान स्वयत्त प्रदेशको माग भएर राजनैतिक आन्दोलनहरु भएको साथै राज्यसँग पनि पटक पटक सहमति भएको, सात सालको क्रान्ति, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिबासी जनजाति आन्दोलनले स्थापित गरेको मुद्दालाई मध्यनजर गर्दै प्रदेशको नामकरण लिम्बुवान किरात राख्न संघर्ष समितिको माग छ ।

संघर्ष समितिमा सत्तारुढ नेकपासम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा नेपाल पनि रहेको छ भने समाजवादी पार्टीसम्बद्ध लिम्बुवान राष्ट्रिय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, संघीय लिम्बुवान पार्टी, किरात याक्थुङ चुम्लुङ,याक्थुङ युवा मञ्च, लिम्बु विद्यार्थी मञ्च, लिम्बुवान स्प्रिङ आन्दोलन र याक्थुङ लेखक संघका नेतृत्व एवं प्रतिनिधिले हस्ताक्षर गरेर विज्ञप्ती जारी गरेका हुन् । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुने पुर्वसन्ध्यामा संघर्ष समितिले यस्तो माग दोहोर्याएको हो । प्रदेशसभको हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु हुन लागेको छ ।

प्रदेशसभा गठन भएको २ बर्ष बित्न लाग्दा पनि प्रदेशको नामकरण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचन भइरहेको छ । त्यसैले यो अधिवेशनमा सभामुखले प्रदेशको नामकरणको प्रस्ताव सभामा दर्ता गराउन आह्वान गर्ने सम्भावना रहेको छ । प्रदेश नं १ लाई विभिन्न राजनीतिक दल, जातीय संघसंस्थाहरुले आफु अनुकुल नामकरण गर्न माग गर्दै आइरहेको छ । कसैले किरात, कसैले लिम्बुवान, कसैले कोशी, कसैले सगरमाथा त कसैले फुर्का जोडेर कोशी किरात, कोशी किरात लिम्बुवानलगायत नामकरणको चर्चा ल्याइरहेका छन् । यद्यपी, सभामा दुई तिहाई बहुमत भएको प्रमुख दल नेकपाले के चाहन्छ भन्नेमा सबैको ध्यान केन्द्रीत छ । नेकपा कोशी प्रदेश नाम राख्ने पक्षमा भएको बताइएको छ ।

limbuwan 1