इटहरी : इन्जीनियरहरुको टोलीले कोरोना सङ्क्रमितको स्वाब सङ्कलन गर्ने बुथ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरेको छ । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) र नेपाल इन्जीनियर्स एसोसिएसनले संयुक्त रूपमा निमार्ण गरेको उक्त बुथ निमार्ण गरेको हो ।

स्वाब सङ्कलन गर्दा चिकित्सकमा रोगको सङ्क्रमण फैलिन नपाओस् भनेर दुई वटा बायोमेडिकल बुथ निर्माण गरी प्रदान गरिएको इन्जिनियर महेश धितालले बताए । यस बुथबाट स्वाब संकलनगर्दा सामान्य पिपिई मात्र प्रयोग गर्दा पनि जोखिम नहुने उनको भनाइछ । उक्त बुथमा अल्ट्रा भ्वालेन्ट रे समेत जडान गरिएकोले कुनै पनि कीटाणु वा भाइरसको जोखिम नहुने उनी बताउँछन् ।

धितालका अनुसार एयर टाइट बुथ भित्र अक्सिजनका लागी १५ फिट लामो पाइप रहेको छ । जसमा १५ फिट परको हावा मात्र बुथ भित्र पस्ने भएकाले हावाबाट बुथको चिकित्सकलाई सङ्क्रमणको खतरा हुँदैन ।

कोरियन मोडलको यो बुथमा चक्का भएकाले एक ठाउँबाट अर्को ठाउँ सम्म सजिलै लैजान सकिन्छ । बुथमा यहाँ जडान भएको स्पिकर र माइक पनि पोर्टेबल नै रहेको र यो विपीमा मात्र नभएर कुनै पनि ठाउँमा स्याम्पलिङ गर्नुपर्दा जुनै पनि क्षेत्रमा सजिलै लगेर प्रयोग गर्न सकिने उनले बताए ।

विपी प्रतिष्ठानका निर्देशक डा. गौरीशंखर शाहलाई उक्त बुथ हस्तान्तरण गरिएको थियो । एउटा बुथ बनाउन करिब ८२ हजार लागत लागेको उनले कपुरी न्युजलाई बताए । बुथको मोडल डिजाइन लगायतको निर्माण भने सिडेन प्रदेश नं १ का पदाधिकारीहरू उमेश तुम्बाहाङ, ईश्वर तामाङ र आफूले गरेको उनको भनाइछ ।