इनरुवा : गत जेठ ३२ गते इनरुवा बजारमा रहेको हनुमान बस्त्रालयबाट आगलागी सुरु भयो । स्थानीय हनुमान अटलको घरमा रहेको बस्त्रालय र गोदाम घरमा लागेको आगो सँगै जोडिएको रेडिमेड कपडा पसल, सृजना फाइनान्सको शाखा कार्यालय, सौरभ हार्डवेयर र सन्तोषी हार्डवेयर रहेका ३ वटा घरहरूमा फैलिएको थियो ।

इनरुवाको चोक मै आगलागी हुँदा समेत इनरुवा नगरपालिकाको दमकल भने बिग्रिएकोले आगलागीको क्षति बढ्यो । नगरपालिकाको दमकल अहिले बिग्रिएर थन्किएको छ । दमकलको बिग्रिएको सामान नपाएकै कारण नबनेको स्पष्टीकरण यति बेला मेयर राजन मेहेताले दिँदै आएका छन् ।

थन्किएको दमकल नबनाएकै कारण इनरुवा बजारमै भएको आगलागी नियन्त्रणमा ढिलाइ भएकोले स्थानीयहरू नगरपालिका सँग रुष्ट छन् । तत्काल इनरुवाको दमकल नहुँदा धरान, दुहबी इटहरीको दमकल आगलागी भएको स्थानमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

अहिले सोही आगलागीको विषय इनरुवाको लागि राजनीतिक विषय बन्दै गएको छ । समग्र नगरपालिकाले दमकल मर्मतमा ध्यान समयमै नपुर्याएकाले इनरुवामा भएको आगोलागिबाट थप क्षति भएको देखिन्छ ।

तर आगलागी भइसकेपछि यति बेला नगरपालिका दमकल मर्मतको विषयमा दुई कित्तामा विभाजित भएको छ । नगरपालिकाको नेतृत्व गर्ने नेपाली काङ्ग्रेसबाट निर्वाचित मेयर राजन मेहेताको टोली र कार्यपालिकाका बहुमत नेकपाबाट निर्वाचित समूह आरोपमा उत्रिन थालेका छन् ।

नगरसभाले बजेट छुट्याएपनि दमकल बनाउन नसक्नुले नगरपालिका नेतृत्व असफल भएको देखाउछ । नगरपालिकाका मेयर राजन मेहेता भने लकडाउनमा सामान नपाएकाले दमकल मर्मत हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले दमकल मर्मत गर्न तथा इन्धनमा छुट्टा छुट्टै बजेट विनियोजन भएको बताउँदै नगरपालिका प्रमुखले आफ्नो जिम्बेबारीबाट टाढा भागेको आरोप लगाएका छन् । बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै मेयर मेहेताले छुट्टिएको बजेटबाट समेत दमकल बनाउन नसकेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलन गरेर इनरुवा नगरपालिकाका नेकपाका संसदीय दलका नेता तथा इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङले सवारी साधन मर्मतमा नगर सभाबाट ७६ लाख रकम खर्च गर्न नगरप्रमुखलाई अख्तियारी दिए पनि मर्मत नगरेको बताए ।

विपदमा पनि 'राजनीति'

सुविधाको उपभोग अत्याधिक गरेको आरोप जनप्रतिनिधिल माथि लाग्दै आएको छ  । जनता सँग प्रत्यक्ष जोडिने भन्दा पनि एक अर्का प्रति राजनीतिक पूर्वाग्रह राखेर सबै विषयलाई राजनीतिकरण गर्न थालेको आरोप जनप्रतिनिधिलाई लाग्दै आएको हो ।

सुविधाको उपभोग गर्दै महङ्गामहङ्गा गाडी चढ्दै आएका जनप्रतिनिधिहरू आफ्नो क्षेत्रमा हुने बिपतलाई न्यूनीकरण गर्न भने लागिपरेको देखिँदैन । यसको उदाहरण इनरुवा अहिले बनेको छ ।

इनरुवाका जनप्रतिनिधिहरू यति बेला बिपतको विषयलाई लिएर आरोप प्रत्यारोपमा उत्रिएका हुन् । नगरपालिकाको नेतृत्व गर्ने मेयर राजन मेहेताले कार्यपालिका माथि दोष लगाएका छन् भने कार्यपालिकाका सदस्यहरूले मेयर प्रति आरोप लगाउदै जिम्बेबारी बाट पन्छीरहेको देखिन्छ ।