इटहरी : इटहरीकाे जनता बहुमुखी क्याम्पसमा सञ्चालक समिति अध्यक्ष रेवतीरमण भण्डारी सहित ३ जनालाई विद्यार्थी सङ्गठनले प्रवेश निषेध गरेका छन् ।

५ विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गर्दै अध्यक्ष भण्डारी सहित प्राध्यापकद्वय राजन भट्टराई र कृष्णकला राईलाई प्रवेश निषेध गरिएको हो ।

शुक्रवार विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनहरूले गत साउन २८ गते भएको जनता बहुमुखी क्याम्पसका दुई प्राध्यापकको अमर्यादित फोन वार्तालाप पश्चात् क्याम्पसको गरिमामा आँच आएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आफूहरूले सो विषयलाई तुरुन्त टुङ्ग्याउनको लागि दोषी उपर कारबाही होस् भनी यो भन्दा अघि पटक–पटक ध्यानाकर्षण पनि गराउँदा समेत बेवास्ता भएको भन्दै कारबाहीमा उत्रिएको उनीहरूको भनाइ छ ।

क्याम्पस प्रशासनले भदौ ८ गते पेस गरेको प्रतिवेदन र संयुक्त विद्यार्थी सङ्गठन को ध्यानाकर्षण पत्रअनुसार कुनै पनि काम कारबाही नभएकोले नयाँ कदम चाल्न बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनेरास्ववियु अध्यक्ष किरण विष्ट, नेबिसङ्घ सभापति सहदेव काफ्ले, अनेरास्ववियु क्रान्तिकारी काबा अध्यक्ष अर्जुन पौडेल, समाजवादी विद्यार्थी फोरम अध्यक्ष चन्द्र किरात, न.स.बि.यु प्रवीण दाहाल र राप्रबिसंका रमेश बजगाईँको संयुक्त हस्तान्तरण रहेको विज्ञप्तिमा दोषी उपर कारबाहीको माग गरिएको छ ।

Janata-Campus-Press-Release