धरान : आज धरानमा सम्पन्न प्रचण्ड माधव समूहको नेकपाको विस्तारित बैठकले १५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ ।

आइन्द्रविक्रम बेघाको संयोजकत्वमा गठित सो समितिको सहसंयोजक चोत्लुङ रहेका छन् । प्रचण्ड नेपालको दह्रो पकड रहेको धरानमा आज पहिलो पटक बसेको प्रचण्ड नेपाल समूहको विस्तारित बैठकले पदम लिम्बुको संयोजकत्वमा स्वयंसेवक परिचालन कमिटी पनि गठन गरेको छ ।

यसै गरी चोत्लुङको संयोजकत्वमा स्रोत परिचालन कमिटी पनि गठन भएको छ । त्यसै गरी प्रचार प्रसार समितिको संयोजकमा केशव घिमिरेलाई तोकिएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा सम्पन्न सो बैठकमा प्रचण्ड माधव समूहका वडा कमिटीका पदाधिकारीहरू, जनवर्गिय सङ्गठनहरूको उपस्थिति रहेको थियो ।

नेकपा विभाजन भएपछि धरानमा सडक आन्दोलनमा मात्रै सीमित रहेका प्रचण्ड माधव समूहको यो बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मराज निरौला, सङ्घीय सांसद जयकुमार राई, उमिता बराइली, रमेश बस्नेत, मुक्सामहाङ मेन्याङ्बो, योगेन्द्र मण्डल पप्पु र किरण राई लगायतले सम्बोधन गरेका थिए ।

प्रचण्ड माधव समूहको केन्द्रीय निर्णय अनुसार आज गठन भएका समितिहरू सशक्त भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विगठन गरेको असंवैधानिक कदम विरुद्ध सशक्त आन्दोलन गर्ने चोत्लुङले बताए ।

Nekapa-Prachanda-Nepal-2