धरान : विगत २२ वर्षदेखि निरन्तर हुँदै आएको धरानको गौरव मानिएको बुढासुब्बा गोल्डकपको २३ औँ संस्करण यस पटक नहुने भएको छ ।

कोरोना महामारीको कारण आर्थिक सहयोग जुट्न नसक्ने भएपछि यसपालिको गोल्डकप नहुने भएको हो । आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलन गर्दै २३ औँ संस्करण आयोजना गर्न नसक्ने भएको जानकारी दिएको हो ।

२०५५ सालदेखि सुरु भएको बुढासुब्बा गोल्डकप पहिलो पटक आयोजना रोकिएको हो । द्धन्दकाल, मधेस आन्दोलन जस्ता विषम परिस्थितिमा पनि विगतमा यो प्रतियोगिता निरन्तर आयोजना भएको थियो ।

प्रतियोगिताको कुल बजेटमध्ये ७५ प्रतिशत दाताहरूबाट नै सङ्कलन हुने गरेको र बाँकी २५ प्रतिशत प्रायोजक, सह-प्रायोजकबाट पाउँदै आएको अवस्थामा यसपालि त्यो अवस्था नरहेको क्लबले जनाएको छ ।

क्लबले गत वर्षको २२ औँ संस्करणको विजेता र उपविजेताको पुरस्कार राशि पनि सबै दिन नसकेको पत्रकार सम्मेलनमा बताएको छ । प्रदेश १ सरकारबाट आउने भनिएको १० लाख र राष्ट्रिय खेलकुद परिषदबाट आउने ५ लाख बजेट पहिलो र दोस्रो हुने टिमलाई उपलब्ध गराउने भनिएको थियो ।

तर, ती दुवै निकायबाट बजेट अहिलेसम्म प्राप्त नभएकोले विजेता मनाङ मर्स्याङ्दीलाई २ लाख ५० हजार मात्र दिइएको र उपविजेता नेपाल पुलिस क्लबलाई पनि पुरस्कार राशि ५ लाख हालसम्म उपलब्ध गराउन नसकेको क्लबका अध्यक्ष किशोर राईले बताए ।