धरान : ६४ औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आज उद्यमशील बचत तथा ऋण सहकारीले धरानमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

आज बिहान ७ बजे सहकारीको कार्यालय धरान-१०, सैनिक चौकबाट निकालिएको प्रभातफेरी रमाइलो,राँगा चौक, मुनाल चौक, चतरा लाइन, छाता चौक, भानु चौक, भोटेपुल, धनकुटे रोड हुँदै बगैँचा चौक, आचार्य लाइन, पुतली लाइनबाट पुनः सहकारीकै कार्यालयमा आएर समापन भएको थियो ।

'मर्यादित व्यवसाय र प्रविधिमा सहकारी' भन्ने मूल नाराका साथ आज देश भरी नै ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । यसै अवसरमा उद्यमशील सहकारीले प्रभातफेरीको आयोजना गरेको सहकारीले जानकारी दिएको छ । प्रभातफेरीमा धरान-१० मा रहेको सहकारीको मुख्य कार्यालयमा कार्यरत कर्मचारी, धरान-५ को देउराली सेवा केन्द्रका कर्मचारी, शेयर सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रभातफेरी समापन पछि भएको कार्यक्रममा सहकारीले 'हाम्रो सहकारी, राम्रो सहकारी, उद्यमशील सहकारी' भन्ने नारा अघि बढाएको सहकारीका व्यवस्थापक जित बहादुर राउतले जानकारी दिएका थिए । उनले उक्त नारालाई सार्थक बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने बताउँदै ६४ औँ राष्ट्रिय सहकारी दिवसको शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै सहकारी अध्यक्ष डा.योगेन्द्र राईले आज सहकारीका बारेमा जनमानसलाई जानकारी गराउने, जागरूक बनाउने दिन भएको बताएका थिए ।

उनले राज्य र सरोकारवाला निकायहरूलाई सहकारीको महत्व थप बोध गराउने दिन भएको समेत बताएका थिए । उनले आज भएको प्रभातफेरीले नैतिक रूपमा बजारमा जाने कर्मचारीलाई सहज हुने विश्वास लिएको बताएका छन् । उनले,‘आज हामी भित्र रहेका कमी कमजोरी सच्याउँदै अघि बढ्ने दिन हो, त्यसैले हाम्रो सहकारी, राम्रो सहकारी, उद्यमशील सहकारी बनाउने प्रणका साथ प्रयत्न गरौँ त्यसका लागि हामी सबैलाई ऊर्जा मिलोस् ।’ भन्दै सबैमा शुभकामना व्यक्त गरेका थिए ।

नेपालमा वि.सं. २०१३ साल चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।