विराटनगर : पोखरामा सम्पन्न आहा-रारा गोल्ड कपका विजेता सङ्कटा व्याइज स्पोटिङ्ग क्लब विराटनगरमा जारी छैटौँ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सहिद मैदानमा मंगलबार साँझ भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई १-० गोलले हराउँदै सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै सङ्कटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पन्जाब पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २-० गोल र गोरखा ब्वाइज क्लब रुपन्देहीलाई टाई ब्रेकरमा ४-२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाडौँ र घरेलु टिम विराटनगर ११ बिच बुधवार प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बङ्गालको युनाइटेड फुटबल क्लबलाई ३–० ले र भारतको युनिाइटेड सिक्किम फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने एपीएफले चिरप्रतिद्धोन्द्धी विभागीय टिमलाई २-० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रामक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबरी खेले । विराट गोल्ड कपको पूर्व विजेता सङ्कटाले खेलको ६१ औँ मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितका लागि निर्णायक बन्यो । सङ्कटाका विदेशी खेलाडी ओडी गोल्रीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए ।

पहिलो गोल खाएपछि दबाबमा परेको क्यामरुनले खेल बरावारिमा ल्याउन निकै सङ्घर्ष गर्‍यो । तर सफल हुन सकेन । पोखरामा सम्पन्न भएको आहा रारा गोल्ड कपमा हार व्यहोरेपछि विराट गोल्ड कपमा बदला लिने क्यामरुनको रणनीति पनि विफल भयो ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्स लाइनको कमजोरीमा क्यामरुन दोस्रो हाफमा १–० ले पछि पर्‍यो । खेलको पहिलो हाफमा क्यामरुनको लागि निकै सङ्घर्षपूर्ण बन्यो । क्यामरुनले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन ।

खेलको १३ औँ मिनेटमा क्यामरुनका खेलाडी बासेकले पेनाल्टी एरियादेखि गरेको प्रहार सङ्कटाका गोलकिपर राजुबाबु थापाले उत्कृष्ट बचाउ गरिदिए । सङ्कटाका विष्णु सुनवरले खेलको २६ औँ मिनेटमा डिबक्स भित्रदेखि गरेको प्रहार क्यामरुनको गोलरक्षक डिए स्यालबियोे बाधक बने ।

३९ औँ मिनेटमा सङ्कटाका ओडे ग्लोरीले गरेको सशत्त प्रहार बाहिरिँदा गोल हुन सकेन । खेलको ४५ औँ मिनेटमा क्यामरुनका खेलाडी बसेकले ३० यार्डदेखि गरेको प्रहार बाहिरियो ।

दोस्रो हाफपछि आक्रामक भएको क्यामरुनले खेल बराबरीमा ल्यान आक्रामक खेल खेले पनि सफल हुन सकेन । खेलको ५८ औँ मिनेटमा क्यामरुनको माफोमाले गरेको कडा प्रहार क्यामरुनको गोलरक्षक राजुबावले विफल पारिदिए ।

खेलको ८९ औँ मिनेटमा क्यामरुनका फ्बराईसले पेनाल्टी एरियादेखि गरेको प्रहार बाहिरिँदा पाहुना टोली बाहिरिन बाध्य भयो । खेलको म्यान अफ द म्याच सङ्कटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

१९ औँ आहा-रारा गोल्ड कपको फाइनलमा क्यामरुनलाई ४-२ ले पराजित गर्दै सङ्कटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।

जितपछि सङ्कटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दा जित हासिल भएको बताए । यता क्यामरुनका प्रशिक्षक सरजेल बोरीसले केही राम्रो खेलाडी पोखरामा छुटदा हार भएको बताए ।