धरान : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्य सहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस् भन्ने सन्देशमा कामना व्यक्त गरेका छन् ।

मुख्य मन्त्रीले आफ्नो सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमण समाप्त भएको हामीले ठानेका थियौँ । तर राजनीतिक अस्थिरतामा आफ्नो भविष्य देख्ने, साधैको किचलो र खिचातानीमा रमाउनेहरूले देशलाई पुरानै बाटोमा फर्काउन नखोजेका भने होइनन् ।

यद्यपि लामो राजनीतिक परिवर्तन मार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक—सामाजिक रूपान्तरण सहित समृद्धि तर्फको यात्रालाई तीव्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हाम्रो साझा जिम्मेवारी र दायित्वबाट हामी किञ्चित पछि हटेका छैनौँ र हट्ने पनि छैनौँ भनेका छन् ।

बितेको झन्डै एक वर्ष कोरोना भाइरस कोभिड १९ विरुद्धको लडाइँको वर्ष रह्यो भन्दै आधा समय त लकडाउनमा नै बिताउनु पर्‍यो । र, अझै पनि हामीहरू कोरोना विरुद्धको लडाइँमा छौँ । त्यसैले हामीले थप स्वास्थ्य सावधानी र सजगता अपनाउनु पर्नेछ सन्देशमा भनिएको छ ।

थुप्रै प्रतिकुलताका बिच वर्ष २०७७ प्रदेश सरकारका लागि महत्त्वपूर्ण आधार निर्माण गर्ने वर्षको रूपमा रह्यो । तिन वर्ष अघि पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रूपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धिको यात्रामा दृढ संकल्पित रहेको विश्वास दिलाउन चाहन्छु सन्देशमा उल्लेख गरेका छन् ।

हाम्रो प्रदेशमा भएका स्रोत, साधन र प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एवम् समुन्नत बनाउने दायित्व हाम्रो काँधमा छ । नयाँ वर्ष २०७८ विकास निर्माणको महत्त्वपूर्ण उपलब्धि र परिणामका लागि स्मरणीय वर्षका रूपमा रहने मैले विश्वास लिएको छु ।

साथै यसका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउने अपेक्षाका साथै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन पनि मुख्यमन्त्रीले सन्देशमा अपिल गरेका छन् ।