धरान : सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नम्बर-५ ताम्कुमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ। सो घटनामा ८ जना बिरामी परेका छन्।

जङ्गली च्याउ पकाएर खाएका ९ जना मध्ये ८ वर्षीय रोजिना राईको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४:३५ मा मृत्यु भएको सङ्खुवासभाका इन्स्पेक्टर कविन राईले जानकारी दिए।

उनका अनुसार बिरामी परेका २७ वर्षीय महेन्द्र राई, २० वर्षीय निर्जला राई, ३५ वर्षीय बुद्धिमान राई, ४१ वर्षीय सावेक राई, ३३ वर्षीय अनिता राई, २५ वर्षीय वीरेन्द्र राई र १२ वर्षीय चन्दन राईको उपचार प्रतिष्ठानको इमरजेन्सी कक्षमा भइरहेको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ।

सोही घरमा ७० वर्षीय बुद्ध बहादुर राई पनि बिरामी छन् तर, उनले म पचाउन सक्छु घरायसी उपचार गर्छु भनेर घरमा नै बसेको बताइएको छ।

उनीहरू सबै एउटै घरका हुन् भने उनीहरूले शनिवार राती ८ बजे जङ्गली च्याउ खाएको प्रहरीले जानकारी दिएको छ।