धरान : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दै तत्काल कारबाही गर्न आफूले अग्रसरता लिने बताएका छन् ।

धराने प्रतिनिधि मण्डलसँग प्रचण्ड निवासमा आज कुराकानी गर्दै उनले वीपी प्रतिष्ठानको बारेमा प्रधानमन्त्रीसँग आफै कुराकानी गर्ने वचन पनि दिएका छन् । वीपीको भ्रष्टाचार, बेथितिको कुरानै अहिले नेपालको जल्दो बल्दो समाचार बनेको र यसले मित्रराष्ट्रले स्थापना गरेको अस्पताल पनि चलाउन नसकेको भनी अन्तर्राष्ट्रिय बदनामी भइरहेको उनले बताए ।

त्यस्तो प्रसिद्ध संस्थालाई बेलैमा सुधार गर्न कठोर भए पनि तत्काल कदम चाल्नुपर्ने कुरा प्रधानमन्त्रीसँग राख्ने उनले वचन दिएका छन् । प्रधानमन्त्री प्रतिष्ठानका कुलपति, स्वास्थ्य मन्त्री सहकुलपति हुन ।

भेटमा धराने प्रतिनिधि मण्डलका धरानका मेयर तिलक राई, माओवादीका नगर इन्चार्ज चोत्लुङ, एमालेका जिल्ल अध्यक्ष रमेश बस्नेतले वीपीको विषयका साथै धरानका विकासका सवालहरू बारे ब्रिफिङ गरेका थिए ।

धरानका मेयर तिलक राईको नेतृत्वमा यो टोली केही दिन देखि राजधानीमा रहेर धरानको विकास निर्माण र बीपीको बेथितिको बारेमा विभिन्न मन्त्रालय र नेतृत्वहरुलाई ध्यानाकर्षण गराउँदै आएको छ ।