इटहरी : इटहरीको मुख्यचौक आसपासमा सरसफाइ गरेर सामाजिक चर्चा र प्रशंसा कमाएको बुल्स इलेभेन क्लबले इटहरी रङ्गशालाको सरसफाइ सुरु गरेको छ ।

क्लबले प्रत्येक शनिवार सरसफाइ गर्ने अभियान अन्तर्गत आज बिहानबाट झाडीले भरिएको रङ्गशालाको सरसफाइ सुरु गरिएको क्लबका अध्यक्ष पूर्ण राईले बताए ।

सरसफाइ अभियानमा सक्रिय रहेका दुई दर्जन युवाहरूको समूहले इटहरी रङ्गशालाको एथलेटिक्स ट्र्याक आसपासको झारपात उखालेर सफाइ थालेका हुन । लामो समय खेलकुदको गतिविधि नभएपछि उक्त रङ्गशाला झाडीमा परिणत भएको छ ।

पुरै रङ्गशालाको झार सफा गर्न एक महिना भन्दा बढी समय लाग्ने राईले बताए । करोडौँको लगानीमा निर्माण गरिएको रङ्गशाला झाडीमा परिणत हुँदा समेत स्थानीय सरकार तथा खेलकुदका निकायले बेवास्ता गरेकाले आफूहरूले सरसफाइ अभियानको थालनी गरेको राईको भनाइ छ ।

यसअघि अघिल्लो शनिवार क्लबले इटहरीको मुख्य बजारको गोलो चोकमा रहेको बगैँचा अर्थात् पूर्वपश्चिम राजमार्ग र कोसी राजमार्गको दिशा छुट्ट्याउने संरचनाको सफाइ गरेर आकर्षक बनाएका थिए । यस्तै क्लबले मुख्य चौक पश्चिम लाइनको बगैँचाको पनि सरसफाइ गरेको थियो ।

Itahari-Rangasala-1