इटहरी : नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुई वटा कार्यक्रमलाई सम्बोधन गर्न भोलि इटहरी आउने भएका छन् । 

नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा एमाले इटहरी उपमहानगरसमिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशन पछि संभवत अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएकाले यी दुवै कार्यक्रम महत्त्वपूर्ण रहेको बताए ।

अध्यक्ष ओली भोलि बिहान साढे ११ बजे इटहरी २ मा एमालेका पुराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् । ओम कोइराला नागरिक अभिनन्दन समितिद्वारा अग्रज मजदुर नेता,निष्ठावान,निस्स्वार्थ व्यक्तित्व ओम कोइरालाको भव्य अभिनन्दन कार्यक्रम आयोजना गरेको हो ।

त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले जानकारी दिए । कार्यक्रममा मजदुर नेता ओम कोइरालाका तीन वटा पुस्तकको लोकार्पण समेत गरिने ओम कोइराला नागरिक अभिनन्दन समितिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।

सो कार्यक्रम पछि दिउसो १ बजे ठुलो जनता स्कुलको खेल मैदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृहत् कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।  इटहरी लगायत सुनसरी जिल्लाभरका हजारौँ अगुवा कार्यकर्ता कार्यक्रममा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।