सुनसरी : सुनसरी जिल्ला स्तरीय ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार सम्पन्न खेलमा धरान फुटबल क्लब र राष्ट्रिय जागृति क्लब विजयी भएका छन् ।

इटहरी स्थित क्षेत्रीय रङ्गशालामा आइतबार सम्पन्न पहिलो खेलमा धरान फुटबल क्लबले धरानकै टेम्के क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । धरानको जितमा रिवश मास्के र सुगास जिमीले एक-एक गोल गरे ।

मास्केले खेलको १३ औ र जिमीले ३१ औ मिनेटमा गोल गरेका हुन । उक्त खेलको म्यानअफ द म्याच विजयी टिम धरान फुटबल क्लबका सुगास जिमी घोषित भए । उनले नगद १ हजार ५ सय पुरस्कार पाए ।

आइतबार नै सम्पन्न दोस्रो खेलमा राष्ट्रिय जागृति क्लबले इटहरी फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको छ । उसका लागि अनीश चौधरी, स्मित तामाङ र समिट कुमार चौधरीले एक–एक गोल गरे ।

अनीशले दोस्रो हाफको १४ औँ, स्मितले ३३ औँ र समिटले ३७ औँ मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ द म्याच समिट कुमार चौधरी घोषित भए । उनले पनि नगद १ हजार ५ सय पुरस्कार पाए ।

भोलि सोमबारको पहिलो खेल गोल्डेनस्टार क्लब दुहबी र गोधुली क्लब धरान बिच हुँदा दोस्रो खेल एलेभेन एरो क्लब दुहबी र न्यु स्टार क्लब वराहक्षेत्र बिच हुने आयोजकले जनाएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिग पौष २५ गते सम्म चल्नेछ । लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको छ ।