झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आइपुगेका छन् ।

केही दिन अघि मात्र झापा आएर ३ दिन यतै बिताएका ओली आज पुन गृह जिल्ला आएका हुन् । भद्रपुर विमानस्थलमा ओर्लिएका ओलीले आज चन्द्रगढीमा नेपाल निजामती कर्मचारी सङ्गठनको भवन उद्घाटन गरे ।

भवन उघाटनमा कार्यक्रममा बोल्दै ओलीले आफू नेतृत्वको तत्कालीन सरकारलाई असहयोग गर्न काँग्रेसले उर्दी जारी गरेको स्मरण गरे । ओलीले काँग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी समेत गरे ।

तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ, तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन भन्दै ओलीले सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेको समेत आरोप लगाए ।

अध्यक्ष ओली आजै झिलझिलेमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुदैछन् । यस्तै आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ स्थित कमल गाउँपालिकामा वडा नं. ७ मा रहेको आयुर्वेदिक औषधालयको भवन निरीक्षणमा समेत उनी सहभागी हुनेछन् । भवन निर्माणको काम सकिए पनि यहाँ औषधालय स्थापना हुन सकेको छैन ।