धरान : आपसी सद्भाव र रङ्गहरूको उमङ्गको पर्व होली आज पूर्वी र मध्य नेपालको तराइ क्षेत्रमा हर्षोल्लासका साथ मनाइदैछ । 

काठमाडौँमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रङ्ग र अबीर लगाएर होली पर्व मनाउँदै छन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुसीयालीमा होली मनाइने गरिन्छ ।  त्यसैगरि एक कथन अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध चुसाउन गएकी कंशकी सेना पूतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई व्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसीयाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

होलीको महत्त्वपूर्ण अङ्ग रङ्गले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रङ्ग बढी प्रयोग हुन्छ । यी रङ्ग हरूका आआफ्नै विशेषताहरू छन् । 

रातो : रातो रङ्गलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रङ्गको पहिरन लगाएका हुन्छन् । अधिकांशलाई मन पर्ने रङ्ग हो– रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । रातो रङ्गलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ । रातो रङ्ग मन पराउने मानिसहरू महत्त्वाकाङ्क्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् । 

हरियो : हरियो रङ्गलाई प्राण, जीवन शक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवन शक्तिको भित्री मर्म बुझ्ने जीवित रङ्ग पनि भनिन्छ । हरियो रङ्ग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन् । उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन् ।

पहेँलो : यो रङ्गलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रङ्ग मन पराउने मानिसहरू धर्म कर्म प्रति बढी विश्वास गर्छन् । होली हिन्दु धर्मावलम्बीहरूको चाड भएकाले यो रङ्गको विशेष प्रयोग हुन्छ । मनोविज्ञहरूका अनुसार यो रङ्ग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।

नीलो  : नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नील वर्णका भगवान् विष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको मान्यता पनि सुन्न पाइन्छ । यो रङ्गलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । यो रङ्ग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् । उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविद्हरू बताउँछन् ।

कालो : होलीमा कालो रङ्गको पनि व्यापक प्रयोग हुन्छ । यो रङ्ग ईर्ष्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रङ्ग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।

सेतो : धेरैलाई मन पर्ने रङ्ग हो,सेतो । यो रङ्गलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रङ्ग मन पराउँछन् । चहकिलो सेतो रङ्गलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ ।