झापा : १५ पालिकामा रहेका २८६ निर्वाचन स्थल र ७५५ मतदान केन्द्रमध्ये झापाका ५१ मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। त्यस्तै एक सय ५३ मतदान स्थललाई संवेदनशील र ८२ वटा मतदान स्थललाई सामान्य गरेर वर्गीकरण गरिएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार विगतका निर्वाचनका साथै पछिल्लो अवस्थालाई मध्यनजर गरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरेर सुरक्षा प्रबन्ध मिलाउन थालिएको जानकारी दिए। कर्मचारी र सुरक्षाकर्मी परिचालन गर्दा अति संवेदनशीललाई बढी ध्यान दिने र सामान्य रहेको स्थानमा परम्परागत तरिकाले गर्न सकिने अनुगमनका क्रममा देखिएको प्रजिअ रिजालको भनाइ छ। 
कसैले हतियार बुझाएनन् : प्रहरी
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय झापाले निर्देशन दिए पनि कसैले हतियार नबुझाएको प्रहरीले जनाएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको थियो । 
प्रशासनले गत चैत ८ गते एक सूचना जारी गर्दै १५ दिनभित्र आ-आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरेको थियो । 
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले १५ दिनभित्रमा हतियार बुझाउन आग्रह गरे पनि प्रहरी समक्ष कसैले हतियार नबुझाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 
प्रहरी कार्यालयमा बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिने बताइए पनि कसैले हतियार नबुझाएपछि हतियारको विषयमा विवरण सङ्कलनको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी रिजनलले जानकारी दिए ।
झापामा महिला मतदाता बढी
झापामा पुरुषको तुलनामा महिला मतदाता बढी रहेका निर्वाचन कार्यालयले जनाएको छ । छ लाख ४६ हजार २२५ मतदातामध्ये तीन लाख २१ हजार पाँच सय २० पुरुष र तीन लाख २४ हजार सात सय पाँच महिला मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३६ वटा दल दर्ता भएका छन् ।