झापा : झापाको दमकमा आठौँ फुड फेस्टिभल जारी छ।

खानाको परिकार, कृषि पर्यटन हस्तकला, उद्योग र व्यापार मेलामा दमक सहित आसपासका सर्वसाधारणको उपस्थिति बाक्लिने गरेको छ । गत २३ गते देखी सुरु फेस्टिभल चैत २९ गते सम्पन्न हुनेछ। होटल व्यवसायी सङ्घ दमकको आयोजनामा जारी आठौँ फुड फेस्टिभलमा स्थानीय जातजातिका खानाका परिकार विशेष आकर्षणको केन्द्र बनेका छन्।

आन्तरिक पर्यटन प्रर्वदनलाई सघाउ पुर्‍याउन पनि फुड फेस्टिभलको आयोजना गरिएको होटल व्यवसायी सङ्घ दमकका अध्यक्ष योगराज दंगालले जानकारी दिए । सुरुका दिनमा भन्दा पछिल्ला दिनमा फुड फेस्टिभलमा सहभागी हुनेको सङ्ख्या पनि बढ्दै गएको उनको भनाइ छ।

फुड फेस्टिभलमा विशेष गरी विभिन्न जातजातिका मौलिक खाना, बालबालिकाका लागि खेलौना र हरेक साँझ राष्ट्रिय स्तरका कालाकारको प्रस्तुति हुने गरेको होटल व्यवसायी सङ्घ दमकका महासचिव भूपेन्द्र न्यौपानेको भनाइ छ।

महासचिव न्यौपानेका अनुसार फुड फेस्टिभलको शनिवार साँझ सम्ममा करिब २० हजार जनाले अवलोकन गरेका छन् । फुड फेस्टिभलमा धिमाल जातीको मौलिक खाना चिचिरी गेन्द्रो, तामाङ जातीका मौलिक खाना त्यसैगरि अन्य जातजातिका खानाका परिकारहरूका स्टल रहेका छन्।

लिम्बू जातीले याङबेन खानाको प्रवर्द्धन गर्न स्टल नै सो फुडफेस्टिबलमा राखेको स्टल सञ्चालिका तथा दमक २ मा रहेको खरायो कटेजकी सञ्चालिका गोपी लिम्बूले बताइन । लोप हुनै लागेका मौलिक खानाको प्रवर्द्धन गर्न यस्ता महोत्सवले सहयोग पुर्‍याउन उनको भनाइ छ। 

दमक नगरपालिका र दमक उद्योग वाणिज्य सङ्घ संरक्षक रहेको फुड फेस्टिभलमा होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश १ र होटल व्यवसायी सङ्घ जिल्ला समिति झापा सहयोगी संस्थाका रूपमा रहेका छन् भने प्रर्वदकको रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ। दमक ७ स्थित पुरानो पशु हाटमा जारी फुड फेस्टिभल आगामी २९ गते बृहत् कार्यक्रम गरी सम्पन्न गरिने होटल व्यवसायी सङ्घ दमकका महासचिव भूपेन्द्र न्यौपानेले जानकारी दिए ।

Damak-Food-Festival