विराटनगर : आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाले आफ्नो नेतृत्वमा विराटनगरको इतिहास कायम हुने गरी नयाँ विराटनगर निर्माणको खाका तयार भइसकेको बताएका छन्। यो अभियानलाई मूर्त रूप दिन भ्रष्टाचार न्यूनीकरण आफ्नो महत्त्वपूर्ण कदम हुने उनले स्पष्ट गरेका छन्। 
पाँच दलीय गठबन्धनको समर्थनमा मेयर पदमा उठेका कोइरालाले चुनाव जितेर महानगरको नेतृत्वमा पुगेपछि विराटनगरवासीको चाहना र आकाङ्क्षा अनुरूपको विराटनगरको पुनर्निर्माण आफ्नो कर्तव्य हुने बताए। 
आज विराटनगरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले भने, 'म विराटनगरमा जन्मेर हुर्केको मानिस हुँ । मैले विराटनगरको हावापानी बुझेको छु। महानगरवासीको चाहनासँग पनि परिचित छु । त्यसैले नगरवासीको विकासप्रतिको चाहना नै मेरो प्रतिबद्धता हुनेछ।” महानगरका सबै प्रशासनिक र आर्थिक गतिविधिलाई अत्याधुनिक डिजिटल प्रविधिमा प्रतिबद्धता जनाउँदै उनले प्रविधि प्रयोगबाट सेवा लिन महानगरवासीलाई समेत अभ्यस्त गराउने आफ्नो योजना रहेको सुनाए । समयको बचत र अनावश्यक काम लम्बिने झन्झटबाट सेवाग्राहीलाई मुक्त गर्ने कोइरालाको भनाइ थियो । 
“प्रविधिको प्रयोगबाट भएका भए अनियमितता रोक्नसमेत मद्दत पुग्छ,” उनले भने, 'महानगरको विकास जनताको चाहना, राजनीतिक नेतृत्वको सोच र कर्मचारीतन्त्रको कार्यान्वयनबाट मात्र सम्भव हुने भएकोले सबै पक्ष उत्तिकै जिम्मेवार भएर काम गर्नुपर्छ ।'
महानगरबाट हुने सेवा प्रवाहमा कुनै किसिमको भेदभाव नगरी नगरवासीले देख्ने अनि महसुस हुने गरीको परिवर्तनको योजना आफूसँग भएको कोइरालाले सुनाए उनले भने,“ठाउँ विशेष हेरेर विकासका योजना सञ्चालन गर्ने होइन बरु आवश्यकता, माग र एकरूपताको आधारमा गर्नेछु।” विराटनगरवासी आफ्ना परिवारका सदस्य भएकाले यो चुनावमा अत्यधिक मत दिएर आफूलाई जनसेवा गर्ने अवसर प्रदान गर्नसमेत कोइरालाले आग्रह गरे । 
महानगर अस्पताल निर्माण गर्नेदेखि  विपन्नहरूको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याएर उदाहरण पेस गर्ने सम्मको योजना बनाएको कोइरालाले सुनाए । “औद्योगिक नगरबाट विस्थापित उद्योगलाई पुनः सञ्चालन गर्न उद्योगी र औद्योगिक क्षेत्रलाई आग्रह गर्छु । सकेको केन्द्रीय स्तरमा समेत पहल गर्नेछु ।” 
सिंघिया र केसलिया खोलामा तटबन्ध निर्माण गरी बस्ती संरक्षण गर्ने, ग्रिनबेल्टको अवधारणालाई मूर्त रूप दिने, विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा महानगरले सहयोग गर्ने, शुद्ध पिउने पानीको पहुँच बढाउने, विराटनगरलाई स्वच्छ र सफा राख्न सरसफाइका गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको सुनाए । 
‘ल्यान्ड पुलिङ’मार्फत जग्गा खरिद गरी १० हजार सुकुम्वासीको बसोबास प्रबन्ध गर्ने, बनेका बाटो, नाला र सडक संरक्षणमा काम गर्ने, पूर्व प्रधानमन्त्रीहरूको पहिचान झल्काउने शालिक निर्माण गरी राजनीतिक पर्यटन प्रवर्द्धनको गर्न काम अघि बढाउने कोइरालाले बताए ।