झापा : झापाको दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज गाउँपालिकास्थित वडा नम्बर ४ मा रहेको एउटा सिङ्गो बस्ती नै नदी कटानको जोखिममा परेको छ । भारतसँग सीमा जोडिएको उक्त क्षेत्रमा सिमानाका रूपमा गेउरिया खोला रहेको छ । 

उक्त खोलाले धार परिवर्तन गर्दा नेपाल तर्फको जमिन कटान गरिरहेको स्थानीय जयराम ऋषिदेवले बताए । उनी भन्छन्, “खोलामा सामान्य तटबन्धन मात्रै गरे पनि बस्ती तर्फको कटान रोकिने थियो । तर यस विषयमा कसैले वास्तै गरेनन् ।” नदिलाई नेपाल तर्फकै भू-भागबाट नियन्त्रण गरी धार परिवर्तन गराउन आफूहरूले पटक-पटक आग्रह गरे पनि भारतीय पक्षले त्यहाँ अवरोध गरिरहेको उनले सुनाए। भारतीय सीमा सुरक्षा बलले त्यहाँ नदिको धार परिवर्तन गर्न नदिएपछि समस्या भइरहेको उनले भने । 

"नेपाल र भारतको सिमाना यहाँ गौरिया खोलाले छुटाएको छ । तर, त्यही गौरिया खोला हाम्रा लागि दिनको भोक र रातको निन्द्रा हजाम गराइदिने बनिरहेको छ । खोलाले कटान गरिरहेको छ । बस्ती जोखिममा छ । खोलालाई केही गरी सिधा धारमा फर्काउन सके बस्तीमा जोखिम घट्थ्यो ।" स्थानीय उर्मिला ताजपुरियाले भनिन् । 

अब बर्खा यामको समयमा त झन् यहाँका स्थानीय त्रासै त्रासमा बस्न बाध्य हुने गरेका छन् । ताजपुरिया भन्छिन्, "हामी गरिब भएकै कारण हामीलाई कसैले हेरेन । नेताहरूले समस्या समाधान गरिदिन्छौ त भने तर अहिलेसम्म यो समस्या समाधान गर्ने हामीले कोही नेता नै पाएनौँ ।"  

यस्तै, सोही ठाउँका स्थानीयवासी राजेश ऋषिदेव भन्छन्, “कतिपल्ट त यहाँ आएको बजेट नै फ्रिज भएको छ । खोलालाई सिधा धारमा फर्काउन भारतीय पक्षले अवरोध गरे पनि यहाँ तटबन्ध गर्न त कसैले अवरोध गरेको छैन नि । तर, चुनावलाई बहाना देखाउँदै काम रोके । अहिले चुनाव पनि सकिएको यतिका समय भइसक्यो अझै केही सुरसार छैन । यस्तै अवस्था भयो भने यो बर्खा कसरी धान्नु ?”  

गौरीगञ्ज गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष फेका गिरिले भने यस विषयमा आफू गम्भीर भएर लाग्ने बताएका छन् । उनले सो ठाउँमा भइरहेको कटानबाट बस्तीलाई जोगाउन आफू आजैबाट लागिपर्ने समेत बताए । “हामी भर्खर मात्रै निर्वाचित भएर आएका हौँ, त्यसैले एक एक समस्यालाई गम्भीर भएर आफूहरू समाधानको पाटोमा लाग्नेछौँ ।” उनले भने ।

Geuriya-khola-Sima