धरान : धरानका निजी विद्यालयहरूले महँगो शुल्क लिएको जनगुनासो आएपछि आज मेयर हर्क साम्पाङले धरानका केही निजी विद्यालयहरूको अनुगमन गरेका छन् । 

आज धरान-१५ मा रहेको के के इन्टरनेश्नल स्कुल, विष्णु मेमोरिय स्कुल धरान-९ र मेमोरियल  स्कुलमा मेयर अनुगमनका लागि धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा, अभिभावक सङ्घ र सञ्चारकर्मीहरू सहित पुगेका थिए । 

पछिल्लो समय धरानका केही निजी विद्यालयहरूले अभिभावकको ढाड सेकिने गरी शुल्क लिएको भन्ने जनगुनासो आएपछि आफू विद्यालय अनुगमनमा निस्किएको मेयर साम्पाङले बताए । के के इन्टरनेश्नल स्कुल बिदा भएकोले त्यहाँ विद्यालयका केही कर्मचारी र पदाधिकारीहरुसँग भेटेर विद्यालयको अवस्थामा बुझेका थिए । विद्यालयका पदाधिकारी र कर्मचारीहरूसँग छोटो छलफल पछि मेयर साम्पाङ धरान ९ मा रहेको विष्णु मेमोरियल स्कुल पुगेका थिए । स्कुलमा पुग्दा विद्यार्थीले मेयर आफ्नो स्कुलमा आएको देखेर एकाएक खुसीले कराएका थिए । 

विष्णु मेमोरियल बोर्डिङ स्कुलमा भने कक्षा सञ्चालन भइरहेकोले विभिन्न कक्षाहरूको अवलोकन गरिएको थियो भने कम्प्युटर ल्याबको समेत अवलोकन गरेका थिए । विद्यालयका पदाधिकारीहरुसंग विद्यालयले महँगो शुल्क लिएको जनगुनासो आएकोले आफू विद्यालयमा अनुगमनमा निस्किएको मेयर साम्पाङले बताए । 

यसैगरी लक्ष्मी सडकमा रहेको युरेका स्कुलको पनि मेयर अनुगमनमा पुगेका थिए । त्यहाँ पनि विद्यालयमा परीक्षाको लागि बिदा भएकोले विद्यार्थी भने भेटिएनन् । विद्यालयका केही पदाधिकारीहरूले मेयरलाई विद्यालयको बारेमा जानकारी दिएका थिए । 

निजी विद्यालयको अनुगमन पछि संचारकर्मीहरुसँग मेयर साम्पाङले प्रतिक्रिया दिँदै भने-अव देखि नियमित धरानका सबै विद्यालयहरूको अनुगमन गर्ने बताए । यहाँ निजी विद्यालयहरूले महँगो शुल्क लिएको, विद्यालय र पसले बिच कमिसनमा विद्यालयले तोकेको पसलमा मात्रै खरिद विक्री गर्नुपर्ने जस्ता सिण्डकेट लागु गरिएको र स्कुल बसमा विद्यार्थीलाई क्षमता भन्दा बढी कोचेर विद्यार्थी बोक्ने गरेको लगायतको जनगुनासो आएपछि स्थानिय सरकारको हैसियतमा आफूले विद्यालय अनुगमन गरेको बताए । धरानका निजी विद्यालयहरू मात्रै होइन अव सरकारी विद्यालयहरूमा पनि नियमित अनुगमन गर्ने मेयर साम्पाङले बताए । 

निजी विद्यालयहरूको बारेमा व्यापक जनगुनासो आएपछि धरान उपमहानगरपालिकाले आउने आइतबार धरान उपमहानगरपालिका, निजी विद्यालयका सञ्चालकहरू र प्याव्सन, एन प्याव्सनका पदाधिकारीहरू बिच छलफल गरेर अघि बढ्ने बताइएको छ ।