इटहरी : जनता बहुमुखी क्याम्पसकी प्रमुखले झुटो प्रचार गरेको ६ विद्यार्थी सङ्गठनले आरोप लगाएका छन् । 

विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कागजात पठाउन नसकेको कुरा गलत भएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । 

साउन १५ गते विराट टेलिभिजनमा प्रसारित समाचारमा क्याम्पस प्रमुख गीता अधिकारीले विद्यार्थी सङ्गठनलाई दोष दिएको उनीहरूले बताएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारि गर्दै उनीहरूले ज्येष्ठ २९ गते भएको कर्मचारी नियुक्ति प्रक्रिया खारेजीको माग गरेर छानबिन समिति गठन भइरहेको बेला प्रमुखले गलत अभिव्यक्ति दिएको उनीहरूको ठहर छ । 

जनता बहुमुखी क्याम्पसमा दाताले दिएको जग्गाको अभिलेख नभएको भनी अख्तियारमा उजुरी परेको छ । सो विषयमा अख्तियारले क्याम्पस सँग आवश्यक कागजात माग गरेको छ । 

असार २१ गते क्याम्पसको कर्मचारी नियुक्ति प्रक्रिया गलत भएको भन्दै विद्यार्थी सङ्गठनहरू आन्दोलनमा उत्रिएका छन् । सोही विषयमा छानबिन गर्न समिति बनेको तर अहिलेसम्म कुनै उपलब्धि नभएको उनीहरूले बताएका छन् ।

आन्दोलनरत सङ्गठनहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । अख्तियारले मागेको आवश्यक कागजपत्र र कर्मचारी नियुक्ति प्रक्रियाको डकुमेन्ट निकाल्न तयार भएको जानकारी गराएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उज्ज्वल सिग्देलले बताए । 

समितिलाई कागजपत्र निकालेपछि छानबिन प्रक्रिया टुङ्गो नहुँदा सम्म तालाबन्दी कायम रहने अडान राखेको उनले जानकारी दिए । आफूहरूले सहज वातावरण सृजना गर्दा पनि क्याम्पस प्रमुख लगायत प्रशासनले गम्भीरता नदेखाएको उनले बताए ।

विद्यार्थीहरूको माग प्रति क्याम्पस प्रशासन गम्भीर हुन र यथाशीघ्र अख्तियारलाई कागजात उपलब्ध गराउन संयुक्त विज्ञप्ति मार्फत माग गरेका छन् । व्यवस्थापन समितिद्वारा गठित छानबिन समितिले छानबिन प्रक्रियामा अनुचित ढिलाइ गरेको हुँदा तत्काल थप प्रक्रिया अगाडी बढाउन अनुरोध गरिएको छ । आग्रहलाई बेवास्ता गर्दै तत्काल छानबिन प्रक्रिया अघि नबढाएमा थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने विद्यार्थी सङ्गठनको चेतावनी छ । 

हाल अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु (क्रान्तिकारी), राप्रवि सङ्घ, अनेरास्ववियू र नयाँ शक्ति विद्यार्थी युनियनले आन्दोलन जारी राखेका छन् । 

Janta