धरान : धरानका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत धरानको सर्दु खोलाबाट माइक्रो मिनी हाइड्रो पावर सञ्चालनको अन्तिम अवस्थामा आइपुगेको छ । 

सर्दु खोलाबाट बिजुली उत्पादन हुने कुरामा विश्वासै नगरिएको अवस्थामा मेयर साम्पाङको योजना अनुसार अहिले १ किलो वाटको बिजुली उत्पादनको अन्तिम तयारी भइरहेको छ । आइतबार सर्दुबाट खर्दु दोभान सम्म पाइपबाट पानी ल्याई सकिएको छ । अव केही पाइप जडान गर्ने बित्तिकै अहिले बन्दै गरेको माइक्रो मिनी हाइड्रो पावर निर्माण स्थलमा पानी आइपुग्ने छ ।

सम्भवतः आज सम्ममा पावर हाउस निर्माण स्थलमा पानी आइपुग्ने छ । यसरी मेयर साम्पाङको अभियान अन्तर्गत धरानको सर्दु, खर्दु र निशाने खोलामा भइरहेका अभियान मध्ये बिजुली निकाल्ने काम अन्तिम चरणमा आइपुगेकोमा खुसी व्यक्त गर्दै मेयर साम्पाङले भने अबको अभियान धरान २० विष्णुपादुकाको डाँडाबाट सानो टर्वाइनमा हावाबाट बिजुली निकालिने योजना छ । 

सर्दु खोलाबाट पनि बिजुली निस्किन्छ भन्दा नपत्याउनेहरू थिए मैले फेरि पनि हावाबाट बिजुली निकाल्छु भन्दा पत्याउँदैनन् होला । तर फागुन देखि यो अभियान पनि सुरु गर्छ भन्दै मेयर साम्पाङले बर्खा याममा सर्दु खोलामा बिजुली बल्ने पक्का भएकोमा खुसी व्यक्त गरे । 

सर्दु खोलाबाट बिहीबार देखि टर्वाइन चल्ने बताउँदै सर्दु खोला झिलिमिली हुने र त्यहाँको पानी निशाने खोलाको दोभानमा बन्ने अढाई देखि ३ लाख लिटरको पानीको टङ्कीमा जम्मा हुनेछ । निशाने दोभानको टङ्कीबाट पानी स्वस्तिका चौक लगिने पनि मेयर साम्पाङले बताए ।