झापा : झापाको दमक नगरपालिका वडा नं. ३ को उत्तरी क्षेत्रमा विगत केही समय देखि जङ्गली हात्तीले उप्रदो मच्चाउँदै आएको छ । स्थानीय हंसे दुम्से सामुदायिक बनबाट निस्केर आउने जङ्गली हात्तीले साँझपिच्छे बस्तीको घर भत्काउने, अन्नपात, बाली बिरुवा खाएर नष्ट गर्दै उपद्रो मच्याउँदै आएको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । 

"हालसम्म लाखौँ रुपैयाँ भन्दा धेरै मूल्यको क्षति भइसकेको छ । जङ्गली हात्तीले हालसम्म यहाँका एक दर्जन भन्दा धेरै घर भत्काइसकेको छ ।" वडाध्यक्ष बरालले भने । हात्तीले भत्काएका घर मध्ये स्थानीय गोलाटार भन्ने स्थानका कमल भण्डारी र दुम्से बस्तीका लक्ष्मण तामाङको घरमा भने धेरै क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए । 

शुक्रवार राति पनि स्थानीय टेकनाथ भट्टराईको घरमा जङ्गली हात्तीले क्षति पुर्‍याएको छ । भट्टराईको घरको पर्खाल सहित एउटा कोठामा क्षति पुगेको छ । राति १० बजेतिर आएको हात्तीले भट्टराईको घरमा धेरै समय बिताएको थियो । हात्तीले उपद्रो मच्चाएर फर्किएपछि पनि आफूहरू रातभर सुत्न नसकेको भट्टराईले सुनाए । 

लगातार दुई साता भन्दा धेरै समयदेखि निरन्तर हात्तीले दुःख दिन थाले पछि उत्तरी क्षेत्रका बासिन्दाले हात्ती धपाउन प्रहरी प्रशासनलाई गुहार माग्दै आएका छन् । झापामा पछिल्लो समय भारतबाट प्रवेश गरेका जङ्गली हात्तीले सीमावर्ती क्षेत्रका बस्ती देखि जिल्लाका विभिन्न जङ्गल नजिक रहेका बस्तीहरूमा दुःख दिने गरेको छ ।  लामो समयदेखि हात्ती र मानवबिच भएको द्वन्द्व न्यूनीकरणका लागि सरकारले स्थायी उपाय खोज्नु पर्ने हात्ती प्रभावित क्षेत्रका बासिन्दाले बताउँदै आएका छन् ।