नवरात्रको दोस्रो दिन आज शुक्रबार असोज शुक्ल द्वितीया। आजको दीन ब्रह्मचारिणी देवीलाई समर्पित छ। 

नवरात्रिको दोस्रो दिन ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ। दुर्गा देवी, आफ्नो द्वितीय स्वरूपमा ब्रह्मचारिणीको नामले  प्रसिद्ध हुनुहुन्छ । यस स्वरूपमा देवी कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने हुनुहुन्छ । 

ब्रह्मचारिणी देवीले शिरमा अर्ध चन्द्र र नाना प्रकारको आभूषण धारणगरि आफ्नो दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमंडलु धारण गर्नुहुन्छ । ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य छ। परब्रह्म परमात्मा सँग साक्षात्कार गर्ने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।

हिमालय कन्याको रूपमा उत्पन्न भएर, ब्रह्मचारिणी भगवतीले भगवान शिवलाई पतिको रूपमा पाउन दृढ़ निश्चय गर्नुभएको थियो।

आफ्नो दृढ़ निश्चयानुसार देवी ब्रह्मचारिणी सर्वप्रथम प्रतिदिन भगवान शिवजीको सेवा गर्न थाल्नुभयो तर भगवान शिवजीलाइ केही असर परेन, शिवजी आफ्नो ध्यानमा मग्न नै हुनुभयो, तत्पश्चात् देवताहरू कामदेवलाई शिवजीको साधना भंग गर्न पठाए तर कामवाणको प्रयोग गर्दा भगवान शिवले कामदेवलाई नै भस्म गरिदिनुभयो । अन्ततः नारदजीको उपदेश अनुसार देवीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्नका लागि कठोर तप प्रारम्भ गर्नुभयो र आफ्नो घोर र दुष्कर तपस्याका कारणले नै देवीको ब्रह्मचारिणी नाम रहन गयो । 

माताले तीन हजार वर्षसम्म कठोर, निराहार एवम् निर्जला रहेर तपस्या गर्नुभयो । पहिलो वर्ष देवीले फलाहार मात्र गर्नुभयो, त्यस्तै दोस्रो वर्ष पातको मात्र आहार गर्नुभयो र तेस्रो वर्षबाट पातको पनि भक्षण त्याग गरिदिनुभयो ।  पात या पर्ण भक्षण गर्न छोडेकै हुनाले  देवीको नाम अपर्णा पनि हुन गयो । 

सतीको देह त्याग पश्चात् भगवान शिवजी पूर्णतः वैराग्य भएर हिमालय पर्वतमा गएर योगध्यानमा मग्न हुन थाल्नुभयो र आफ्नो कार्य तथा संसारबाट विरक्त हुनुभयो। आफ्नो कठोर तपस्याबाट ब्रह्मचारिणी देवीले भगवान शिवजीको ध्यान भङ्ग गरेर, शिवजीलाई  विवाहको लागि तयार गराइदिनु भयो। 

माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल दिनेवाला छ । तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धिकोलागि ब्रह्मचारिणीको साधना गरिन्छ ।

नवरात्र को दोस्रो दिन अर्थात् आश्विन शुक्ल द्वितीया कै दिन ब्रह्मचारिणी देवीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख मिल्ने शास्त्रोक्त वचन रहेको छ। ब्रह्मचारीणीको अन्य नाम तपश्चारिणी पनि हो एवम् भगवतीको मन्त्र: 'ॐ देवी ब्रह्मचारिण्यै नमस्। अथवा  'ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नम: हो।