वैदिक सनातनी नेपालीहरूको महान् चाड यमपञ्चक अन्तर्गत आज नरके चतुर्दशी अर्थात् कुकुर तिहार एवम् वैदिक सनातनी नेपालीहरूको महान् चाड यमपञ्चकको आज तेस्रो दिन, लक्ष्मी पूजा घरघर झिलिमिली बत्ती एवम् दियोमा बातीहरू बालेर धूमधामका साथ मनाईंदैछ । आजको दिनलाई सुखरात्रि पनि भनिन्छ । आज कुकुरलाई विशेष तवरले पूजागरी मिष्ठान्न खानेकुरा खुवाइँदै छ।  
आज सबेरै घाम झुल्कनु भन्दा अगाडी नै उठी शरीरको कुनै पनि भाग खाली नराखी तेल लगाएमा शरीरमा भएका सम्पूर्ण रोग नष्ट हुने र रोगै नलाग्ने धार्मिक मान्यता रहेको छ । आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठामीठा खानेकुरा खान दिई पूजा गरेर कुकुर तिहार मनाइँदै छ भने आज बेलुकी ऐश्वर्य, धनधान्य तथा सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै छ। 
नरके चतुर्दशी (कुकुर तिहार)
प्रत्येक वर्षको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरके चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ।
कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावर पनि हो । कुकुर इमानदार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । कुकुर भगवान् भैरवको बाहान पनि हो। आजको दिन पाप नास गर्न तथा नरकलाई खुसी पार्न नर्के नुहाउने चलन छ। नुहाइसकेपछि दीपदान गर्ने चलन रहेको छ।
लक्ष्मी पूजा
laxmi-pujaआज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई भव्य स्वागत गर्ने परम्परा रहेको छ । आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने यस कार्त्तिक कृष्ण औँसीको रातको नाम सुखरात्री हो ।
लक्ष्मी पूजाका लागि आज बेलुकी आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर, चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्ने गर्छन् । भगवान् विष्णुको आज्ञा अनुसार यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकमा शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गई गाउन लगाएको परम्पराको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समय क्रममा अपभ्रंश भई भैलो हुन गएको हो। 
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कार्त्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
लक्ष्मी पूजाका अवसरमा आज सहर बजारमा दीपावली गरी झिलिमिली बनाइन्छ। लोक परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत रहेको छ । तर शास्त्रीय रूपमा औँसीपछि, कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको छ।
कसरी खुसी हुन्छिन् लक्ष्मी
लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पूजा गरे लक्ष्मीको कृपा बाट धन प्राप्त  जनविश्वास रहेको छ । माता लक्ष्मीलाई केवल शुद्ध उपासना गर्‍यो भने प्रसन्न बन्नुहुन्छ । 
१. घरमा कुवेरको मूर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ। 
२. श्रीफल अर्थात् नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख गरिएको छ। 
३. मुगा समुन्द्रबाट उत्पादन भएका कारण मुगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ति हुने विश्वास गरिन्छ । 
४. त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मूर्ति सँगै राख्दा अत्यन्तै फलदायी मानिन्छ । 
५.  श्री यन्त्रको पूजा गर्नाले पनि लक्ष्मी अत्यन्तै  खुसी हुने शास्त्रोक्त वचन रहेको छ ।