आज कात्तीक कृष्ण औँसी मङ्गलवार, आज खण्डग्रास अर्थात् सूर्यको केही भाग ढाक्ने गरी सूर्य ग्रहण लाग्दै छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्नेछ भने ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त सँगै नेपालका लागि ग्रहण मोक्ष हुनेछ।  

करिब ३२ मिनेट मात्र नेपालबाट ग्रहण देखिने छ भने, नेपालबाट नदेखिए पनि ग्रहण बेलुकी साढे ७ बजे मोक्ष हुनेछ। शास्त्रीय मान्यता अनुसार कात्तिक ८ गते, आज बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध, बिरामी र आतुरलाई बाहेक अरूलाई भोजन निषेध गरिएको छ ।सूर्य ग्रहणमा भोलिपल्ट कात्तिक ९ गते बिहान सूर्योदय भएपछि मात्र भोजन गर्नु भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ग्रहण लागेका बेला गर्न हुने र नहुने कामलाई शास्त्रमा यसरी उल्लेख गरिएको छ। 

निद्रायां जायते व्याधि मूत्रे दारिद्रमाप्नुयात् ।

                      पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।

अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।

                   बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिँगार पटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने भनी शास्त्रमा उल्लेख गरिएको छ । 

सूर्य ग्रहणमा चार प्रहर अर्थात् १२ घण्टा र चन्द्र ग्रहणमा तीन प्रहर अर्थात् नौ घण्टा अघिदेखि सुतक लाग्ने गर्दछ। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते आज बिहान ४ः५२ बजेदेखि नै सुतक लाग्ने भएकाले बाल, वृद्ध, बिरामी र आतुरलाई बाहेक अरूले भोजन गर्नुहुँदैन । ग्रस्तास्त अर्थात् ग्रहण लाग्दै गर्दा सूर्य अस्त भएकाले भोलिपल्ट अर्थात् कार्तिक ९ गते सूर्योदय भएपछि मात्र भोजन गर्नु भन्ने शास्त्रीय मान्यता रहेको छ। 

कुन राशिलाई कस्तो फल ?

१. मेष राशि भएकालाई स्त्री पीडा

२. वृष राशिकालाई सुख

३. मिथुन राशिकालाई चिन्ता

४. कर्कट राशि भएकालाई व्यथा 

५. सिंह राशि भएकालाई श्रीप्राप्तको योग 

६. कन्या राशि भएकालाई क्षति

७. तुला राशिलाई घात

८. वृश्चिक राशिलाई व्यय अर्थात् खर्च 

९. धनु राशिलाई लाभ 

१०. मकर राशिलाई सुख

११. कुम्भ राशिकालाई मान नाश 

१२. मीन राशि भएकालाई कष्टको योग रहेको छ । 

ग्रहण लाग्दा के गर्ने ?

ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्नुपर्दछ ।

ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनु पर्दछ । ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छर्नु पर्दछ ।‌ ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ । ग्रहणको गलत प्रभावबाट बच्न महामृत्युञ्जय मन्त्रको जाप गर्दा उत्तम हुन्छ । ग्रहण लागेको बेला आटा, चामल, चिनी, दाल दान गर्दा राम्रो हुने जनविश्वास छ ।

ग्रहण लाग्दा के नगर्ने ?

ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुँदैन । ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न वर्जित रहेको छ । ग्रहण लागेको समयमा भोजन गर्नु हुँदैन। ग्रहणको अवधि भरी बिरामी र अशक्त बाहेकले सुत्नु हुँदैन ।ग्रहण अवधिभर गर्भवती महिला अथवा जो कोही पनि घरबाट बाहिर निस्कनु हुँदैन । ग्रहण समयमा विशेष गरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ । ग्रहण लाग्नु करिब १२ घण्टा अगाडिबाट भोजन गर्न नहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको छ ।

गाई तिहारे औंशी

यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरी गाई तिहार मनाइँदै छ। कात्तिक कृष्ण औंसीका दिन गाईलाई लक्ष्मीको प्रतीक एवम् गौमाता स्वरूप आमाको रूपमा पूजा गरिन्छ । गाईका शरीरमा सबै देवीदेवता निवास गर्ने शास्त्रीय कथनअनुसार गाईपूजा गर्दा गाईका शिरदेखि पाउसम्मका अङ्गहरूको पूजा गर्ने चलन छ ।

गाईलाई शृङ्गार गरेर माला लगाई तेल घसेर सम्मान गरी मीठो खानेकुरा दिने गरिन्छ । कसै कसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्दछन् । रक्षा बन्धनका दिन हातमा बाँधेको डोरो यस दिन गाईको पुच्छरमा बाँधिइदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने धार्मिक विश्वास रहेको छ। गाईको गहुँत र गोबरमा अमृत तत्त्वरूपी औषधीय गुण हुन्छ एवम् गाईको दूधमा आरोग्य र कुशाग्र बुद्धि विकास गराउने रस हुन्छ भन्ने तथ्य प्रमाणित भएको छ । गाई अत्यन्तै गुणी र साधु प्राणी हो । समाजमा सज्जन र ज्ञानीजनलाई गाईको उपमा दिइन्छ। 'गावो विश्वष्य मातर' अर्थात् गाई यस विश्वब्रह्माण्डकी माता हुन्।