धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा ‘संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत साम्प्रदायिक र कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिएको’ भन्दै राष्ट्रिय दलित आयोगले प्रेस विज्ञप्ति जारी गर्दै आत्मालोचना गर्न अनुरोध गरेको छ । आयोगले उक्त ‘अभिव्यक्ति सच्याई दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न’ आग्रह गरेको हो ।

मेयर साम्पाङ हिजो सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस चमार जातप्रति अपमान हुने अभिव्यक्ति भएको आयोगले ठहर गरेको हो । उनको फेसबुक स्ट्याटसमा लेखिएको छ ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ उक्त स्ट्याटसप्रति दलित आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्दै मेयर साम्पाङलाई आत्मालोचना गर्न अनुरोध गरेको हो । 

आयोगको विज्ञप्तिमा भनिएको छ ‘२०७९ मङ्सिर २७ गते धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण भएको छ ।’ विज्ञप्ति आयोगका अध्यक्ष देवराज विश्वकर्माको हस्ताक्षरमा बुधवार जारी गरिएको हो ।

विज्ञप्तिमा अगाडि भनिएको छ ‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसीन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत यस्ता साम्प्रदायिक र कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पर्ने भएकोले धरानका नगर प्रमुखलाई उक्त अभिव्यक्ति सच्याई दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध गर्दछौ ।’

मेयर साम्पाङको उक्त स्ट्याटस सार्वजनिक भए लगत्तै दलित अगुवाहरूले फेसबुक मार्फत उक्त अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका थिए । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य दलित अभियानकर्मी नेतृ सुनिता मरिकले आफ्नो स्ट्याटसमा लेखेकी छिन् ‘मेयर साहब तपाई कति फुर्किएको हो कि मात्तिएको हो जे पायो त्यही बोल्ने म धरानको मान्छे भन्न गर्व लाग्थ्यो अब अलि अप्ठ्यारो महशुस गरेको छु । बोली फिर्ता लिनुस् । आफूलाई सच्याउनुस् ।’

Dalit aayog letter