धरान : राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गतेको अवसरमा धरान स्थित सेकेण्डरी स्कुलका पूर्व विद्यार्थीहरूद्वारा आयोजित रक्तदान कार्यक्रममा कुल २३ पिन्ट रगत सङ्कलन भएको छ ।

बिपी प्रतिष्ठानको डेन्टल गेट अगाडि बिपी पार्क धरान-१८ मा पूर्व विद्यार्थीहरूले प्रजातन्त्र दिवस कार्यक्रम सहित रक्तदान गरेका हुन । हाल धरान आदर्श कलेज रहेको धरानको पहिलो बोर्डिङ सेकेण्डरी स्कुलका २०४७, ५१, ५२, ५५ र ५६ ब्याचका विद्यार्थीहरूले रक्तदान गरेका हुन् ।

स्कुलका २०४७ ब्याचका हेमराज सुनुवारको संयोजकत्वमा सेकेन्डरी स्कुल पूर्व विद्यार्थी समूह रहेको छ । पूर्व विद्यार्थीहरू बिच सद्भाव बढाउँदै सामाजिक कार्य गर्न लागि सेकेण्डरीका पूर्व विद्यार्थी समूह २०७८ सालमा स्थापना भएको २०५५ ब्याच समूहका उपाध्यक्ष पार्वती लिम्बूले बताइन् ।

२०२५ सालमा स्थापना भएको सेकेण्डरी स्कुल हाल बन्द भइसकेको छ । रक्तदान कार्यक्रममा धरान १८ का वडा सदस्य देवान राई, २०५१ ब्याचका इन्जिनियरिङ क्याम्पसका प्राध्यापक चन्द्रशेखर लिम्बु, अल्फाबिट कोयला एजुकेशन कन्सलटेन्सिका निर्देशक, २०५२ ब्याचका सञ्जीव राई सहित पूर्व विद्यार्थीहरू उपस्थित थिए ।