झापा : त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मेची रङ्गशालामा भएको खेलमा पाहुना टोली ड्रूक ल्हायुल एफसी भुटानलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक-एक गोल गरे । खेलको तेस्रो मिनेटमै आर्मीले पाहुना टोली भुटानविरुद्ध गोल गर्‍यो । पेनाल्टी एरिया नजिकै आर्मीले पाएको फ्रि किकको सदुपयोग गर्दै तेस्रो मिनेटमा जितेन्द्र कार्कीले गोल गरे । उनले फ्रि किकबाट सिधै जाली चुमाएका हुन् ।

यस्तै, खेलको ६४ औँ मिनेटमा आर्मीका सुशान्त चौधरीले अर्को गोल थपे । बारमा ठोकिएर फर्किएको बललाई पेनाल्टी एरियामा रहेका चौधरीले गोल गरेका थिए । सुरुवातमै गोल खाएपछि दबाबमा रहेको भुटान पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा क्वार्टर फाइनलबाटै घर फर्कनुपर्‍यो ।

खेलमा भुटानको डिफेन्स लाइन निकै कमजोर देखिन्थ्यो । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि शनिवार सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबारको खेलको प्लेयर अफ द म्याच आर्मीका जितेन्द्र कार्की घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । शुक्रवारको खेल विभागीय टोली एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशबिच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।

उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

Bhadrapur-Goldcup-trophy