धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालसम्म वडाबाटै हुने पानी, बिजुली लगायतका सिफारिसको काम वडाध्यक्षहरूबाट खोसेर आफ्नो टेबुलमा थुपारेर रोक्दा जनताले दुःख पाएको आरोप लागेको छ ।
उनले खानेपानीको लागि चलाएको अभियान राम्रै भए पनि आर्थिक रूपमा अपारदर्शी र प्राविधिक रूपमा योजनाबद्ध नभएको, उपमहानगरपालिका र खानेपानी बोर्डमा कुनै योजनागत प्राविधिक कागजात, लेखा प्रणालीमा नभएको दाबी गरिएको छ ।
मेयर साम्पाङको सेवाग्राही नागरिकहरू र जनप्रतिनिधि सँगको व्यवहार अशोभनीय राणा शासनको जस्तो भएकाले बेलैमा सच्चिन आग्रह गरिएको छ । 
उनको विधि विधान विपरीत क्रियाकलापमा सुधार गराउन धरानका क्रियाशील ७ राजनीतिक दलहरू, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरूले मोर्चा बन्दी गरेका छन् ।
कार्यपालिकामै विवाद मिलाउन माफी माग्ने, सच्याउने सहित ५ सूत्रीय माग सहित २४ घण्टे अल्टिमेटम दिएका वडाध्यक्षहरूले माग पुरा नभएपछि राजनीतिक दलहरू सँग मोर्चा बन्दी गरेका हुन ।  
राजनीतिक दलहरू र वडाध्यक्षहरूद्वारा मेयर हर्क साम्पाङको एकतन्त्रीय शासन पद्धति, दम्भ र विधि विधान विपरीतका कार्यहरूका बारेमा धरानवासीलाई सूचित गराउने अभियानका लागि आइतबार चुम्लुङ हिममा जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरूको वृहत् भेला सम्पन्न भएको छ ।
भेलामा धरान-१५ का वडाध्यक्ष नरेश इवारम भने ‘नगर प्रमुखले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अध्ययन गरेका छैनन् ।’ ऐन अनुसार अहिले सम्म वडाबाट भइरहेको पानी, बिजुली लगायतका सिफारिसको अधिकार खोसेर उनले आफ्नो टेबुलमा पु¥याएको बताए ।
उनले भने ‘मेयरले एकतन्त्रीय शासन लागु गरेकोले सामान्य सिफारिस पाउनबाट पनि जनता वञ्चित भएका छन् ।’ सबै निवेदनहरू मेयरको टेबुलमा थुप्रिएको छ र उनले रोकेर राखेकोले पानी, बिजुली सुविधाको सिफारिस नपाएर जनताले दुःख पाएको इवारमले बताए।
नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेलले खानेपानीको नाममा मेयर साम्पाङले गरेका गतिविधि राम्रो देखीएतापनि आर्थिक पारदर्शिता खोइ ? प्राविधिक योजना खोइ ? भनी प्रश्न गर्दै उनले गरेका कामको उपमहानगरपालिका, खानेपानी बोर्डको लेखा प्रणाली र योजना, डिपिआर नभएको बताए ।
एक जना नागरिकले घर बनाउनु परे ऐन, नियम अनुसार कति प्रक्रिया पुरा गर्नु पर्छ ? करोडौँ रुपया चन्दा उठाएर खानेपानीको कामहरूमा ऐन, नियमको प्रक्रिया पुरा गर्नु पर्दैन ? भन्ने उनको प्रश्न थियो । खानेपानी बोर्डको आफू सदस्य भएको तर एक वर्ष देखि बोर्डको बैठक नबसेको उनले बताए ।
उपमहानगरपालिका भित्र मनोमानी ढङ्गले हेभी इक्विपमेन्ट, गाडी खरिद गरिएको छ । ती साधनहरूको खरिद गर्दा ऐन, नियम अनुसार प्रक्रिया खोइ, सुशासन र कानुन खोइ अपनाएको मेयरले ?
धराने जनताले बनाइदिएको घण्टाघर एकल निर्णयमा मेयरले स्वामित्व लिएपछि पुराना कर्मचारीलाई खाली हात हटाएर मेयरले आफ्नो गोजीका ३ जना कर्मचारी भर्ती गरेको बताउँदै प्रश्न गरे कस्तो खालको संस्कार हो ? 
उनले धरानमा राष्ट्रपतिको आगमन हुँदा मेयर र उपमेयर अनुपस्थित भएको घट्नालाई ‘कुकुरलाई घिउ नपचेको’ उखानसंग तुलना गर्दै भने ‘धरानको विकासको योजना राष्ट्रपति समक्ष राखिएको भए त्यो काम अहिले सम्म कार्यान्वयन भइसक्थ्यो ।’ 
उनले धरानको मूल मुद्दा खानेपानी मात्र होइन खानेपानी मूलभूत कुरा भएको बताउँदै भने ‘स्वास्थ्य, शिक्षा लगायतका विकासको आयोजनालाई किन बेवास्ता गरिँदै छ ?’ मेयर साम्पाङ सफल हुनलाई धराने विकास सगसगै लैजानु पर्ने बताए ।
dharan-bhela-partyनेकपा माओवादी केन्द्र धरान नगर अध्यक्ष, धरान-१७ का अध्यक्ष सूर्य बहादुर भट्टराई मनोजले मेयर हर्क साम्पाङले बैठकमा वडाध्यक्षहरूले विधि विधानको कुरा उठाउँदा बैठक स्थगित गर्ने, फरक मत राख्दा वडाध्यक्षलाई स्पष्टीकरण सोध्ने, अस्वाभाविक रूपमा कर्मचारीलाई कारबाही गर्ने, सेवाग्राहीलाई धरपकड गर्ने नीति र व्यवहार अशोभनीय लज्जास्पद भएको बताए ।
उनले भने ‘मेयर साबको सङ्घीय सरकार र प्रदेश सरकारको योजना ल्याउन नदिने रवैया नसच्चिए धरान पचास वर्ष सम्म पछि पर्न सक्छ ।’
वडाध्यक्ष भट्टराईले खानेपानी अभियान बोर्ड र उपमहानगरपालिकाको निर्णय बिनै मेयर साम्पाङले चलाइरहेको बताए । उनले भने ‘सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउनु र यथार्थका कुरा धेरै फरक छ ।’
सामाजिक सञ्जालमा मेयर साम्पाङ आफै कलाकार, निर्देशक, लेखक, गीतकार भएर फिल्म बनाउने र उपमहानगरपालिकालाई सहायक भूमिकामा राख्ने काम गरेको आरोप लगाउँदै भने ‘हामी नगरपालिकामा सहायक भूमिका गर्न आएका होइनौँ ।’
खानेपानीको कामको आर्थिक, प्रविधि लेखाजोखा हुनुपर्ने बताउँदै उनले प्रश्न गरे, सर्दु, सेउती, निशाने, पकुवा, भालुखोलाको पानी कहाँ गयो ? उपमहानगरपालिका वा खानेपानी बोर्डमा डिपिआर, लेखा प्रणालीमा पारदर्शी राखेर जनतालाई देखाउनु पर्दैन ? 
नेकपा एमालेका नगर अध्यक्ष हर्कराज एभेङले नगरप्रमुखले सबैको सल्लाह लिएर अघि बढ्नु पर्नेमा राजा, महाराजाको शैली देखिनु दुःखद भएको बताए । उनले नगर प्रमुख हर्क साम्पाङका विरुद्ध यति धेरै सङ्गठित हुनुपर्ने आवश्यकता नरहेको तर निरङ्कुश हुने, शक्ति आफैमा केन्द्रित गर्ने प्रवृत्ति र  विसंगत विरुद्ध सङ्गठित हुनु पर्ने स्थिति बनेको बताए । 
पूर्व मेयर कुमार कार्कीले धराने जनतालाई वास्तविक, सत्य र यथार्थ कुरा थाहा नपाई रहेको बेला वडाअध्यक्षहरुले सत्य, तथ्य कुरा बाहिर ल्याएर व्यापक छलफलको विषय बनाएको बताए उनले भने ‘खोला खोल्सी जहाँबाट खानेपानी ल्याए पनि आर्थिक पारदर्शिता अपरिहार्य हुन्छ ।’
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोहन तिगेलाको सभापतित्वमा भएको सचेतना कार्यक्रम जनता समाजवादीका नगर अध्यक्ष ताजुब लिम्बुले सञ्चालन गरेका थिए । भेलामा पार्टीका नेताहरू, २० वटै वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू र सातै वटै दलका वडा जिम्मेवार सदस्यहरूको उपस्थिति थियो ।