धरान : प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी धरानबाट गएको ६ राजनीतिक दलको प्रतिनिधि मण्डलले धरानको खानेपानी समस्याको तत्कालीन र दीर्घकालीन समाधान सहित विकास निर्माणका ३० वटा योजना तथा बजेट माग गरिएको सूचि आज बुझाएको छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधि मण्डलसँगको भेटमा धरानको खानेपानी समस्याका विषयमा जानकार रहेको बताउँदै धरानको विकास निर्माणप्रति आफू सकारात्मक रहेको बताए । 
प्रतिनिधि मण्डलमा सहभागी नेकपा माओवादी धराका इन्चार्ज चेत्लुङका अनुसार प्रधानमन्त्री दाहालले खानेपानीको समस्या चाँडै समाधान गर्न चिन्तित रहेको बताएका छन् । 
प्रधानमन्त्री सँग बुधवार प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा भेट गरेको हो । यसअघि प्रमण्डलले सोमवार अर्थ मन्त्री डा प्रकाश शरण महतसँग भेटेर धरान-तमोर सुरुङ मार्गलाई ‘बहुउद्देश्यीय आयोजना’को रूपमा विकास गर्न यसपालिको राष्ट्रिय बजेटमा रकम विनियोजन गर्न माग गरेका थिए ।
खानेपानी सहित ३० वटा योजना तथा बजेट आर्थिक वर्ष २०८०/०८१ को सङ्घीय बजेटमा समावेश गराउन प्रतिनिधि मण्डल सङ्घीय राजधानी काठमाडौँ गएको हो ।
गत: आइतबार प्रस्थान गरेको प्रतिनिधि मण्डलमा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एमाले, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू, पूर्व मेयर सहित वडा अध्यक्षहरू सहभागी छन् ।