धरान : अन्ततः वडाध्यक्षहरूले धराने जनताले अपेक्षा गरे जस्तो विकास र समृद्धिका लागि विधि, प्रक्रिया अनुसार उपमहानगरपालिकाको कार्यपालिका बैठक र त्यहाँ हुने निर्णय तथा छलफलहरू सौहार्दपूर्ण रूपमा होस भन्ने चाहना पुरा गरेको स्थानिय सरकारका प्रवक्ता वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले बताएका छन् ।

दुई महिना देखी विधि, प्रक्रियाको विवादका कारण बस्न नसकेको कार्यपालिका बैठक आज सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएपछि उनले पत्रकारहरूलाई उक्त प्रतिक्रिया दिएका हुन् । बैठकको प्रारम्भमा मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको ५ सूत्रीय मागलाई सम्बोधन गर्दै क्षमायाचना गरेपछि बैठक सुरु भएको थियो ।

विधि, प्रक्रिया अनुसार चल्ने र स्वभावजन्य प्रवृत्तिलाई त्याग्दै आफ्नो कमीकमजोरीलाई पन्छाएर धरानलाई प्रक्रियाबद्ध ढङ्गले अघि बढ्ने मेयर साम्पाङको प्रतिबद्धताप्रति वडाध्यक्षहरूले विश्वस्त भएपछि बैठक प्रारम्भ भएको प्रवक्ता भट्टराईले बताए ।

उनले भने ‘कार्यपालिका बैठक बस्ने बाटो खुलेपछि अब धरान २०८४ सम्म धरान विकासको मोडलमा जाने सम्भावना लिएर अगाडि बढेको छ ।’

आइतबार भएको १६ औ कार्यपालिका बैठकमा पुरानै एजेन्डाहरू प्रस्तुत भए । नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतसँग परिचय आदान प्रदान भयो । नगर शिक्षा समिति गठन गर्ने सम्बन्धमा, नदीजन्य पदार्थ उत्खनन उपयोग र व्यवस्थापन सम्बन्धी स्थानीय मापदण्ड २०७९, धरान-१५ का लक्ष्मी प्रसाद वनको निवेदन सम्बन्धी सहित विविध एजेन्डा प्रस्तुत भएको प्रवक्ता भट्टराईले बताए ।

नगर शिक्षा समितिमा धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागु र नगर सदस्य डेक कुमारी बिक पदपूर्ति भएका छन् । नदीजन्य उत्खनन गर्दा नगर भित्रका योजनामा प्रयोग गर्न कार्यविधि बनाएर स्रोत र साधन प्रयोग गर्ने सहमति भएको छ । खोला ठेक्का नलगाउने सहमति भएको प्रवक्ता भट्टराईले बताए ।

उनका अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि राजस्व परामर्श समितिले दिएको बजेटको सिलिङ सम्बन्धी प्रतिवेदनमा सामान्य छलफल भयो । समितिको पुनः बैठक बसी बजेट राज्यले तोकेकै समयमा ल्याउन प्रक्रिया पुरा गर्ने निर्णय भएको छ ।