धरान : फुटबल खेल समयमा गम्भीर घाइते भई तत्काल उपचारका लागि स्थायी श्रोतको रूपमा धरानका पूर्व फुटबल खेलाडीहरू मिलेर अक्षयकोष स्थापना गरेका छन् ।

पूर्व फुटबलर केन्द्र लिम्बुबाट १ लाख, धरान फुटबल क्लबका प्रशिक्षक सागर घिमिरेबाट प्राप्त ५० हजार सहित  १ लाख ५० हजार रुपैयाँको अक्षयकोष निर्माणको सुरुआत गरिएको छ ।

कोषमा धरानलाई कार्यक्षेत्र बनाएर लामो समय देखी फुटबलमा लागेका पूर्व खेलाडीहरूबाट आर्थिक योगदान गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

फुटबल खेलको टाइममा हुने दुर्घटनामा परि घाइते शारीरिक रूपमा अशक्त भएको अवस्थामा भइपरी आउने समस्यामा आवश्यक आर्थिक श्रोतका लागि अक्षयकोष स्थापना गरिएको पूर्व खेलाडी तथा प्रदेश फुटबल सङ्घका अध्यक्ष राईले बताए ।

सङ्घले खेलाडीको भविष्य सुनिश्चित गर्न प्रदेश सरकार एवं सम्बन्धित सबै निकायहरू पहल गर्ने बताउँदै भने ‘खेल जीवन सकिएपछि पनि खोलाडिहरुलाई फुटबलमै रहने वातावरण बनाउने एन्फा र सरकारलाई योजना दिन्छौँ ।’

धरान फुटबल क्लबका अध्यक्ष समेत रहेका राईले क्लबबाट पनि अक्षयकोषमा १ लाख रुपया प्रदान गरिने प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले भने ‘चार महिना कमाएको रकमले १२ महिना खानुपर्ने बाध्यता छ ।’ खेलाडी उत्पादन गरेर मात्र हुँदैन खेलाडीको भविष्यका सुनिश्चित बनाउन सरकारले नीति निर्माण गर्नुपर्ने बताए ।

फुटबल प्रशिक्षक घिमिरेले अक्षयकोष फुटबल खेल्ने खेलाडीहरूको खेल समयमा आइपर्ने समस्यामा भइपरी आउने खर्चका लागि स्थापना गरिएको बताए ।

उनका अनुसार हाल धरानलाई कार्यक्षेत्र बनाएर खेल्ने खेलाडीका लागि मात्र भएपनी भविष्यमा कोषलाई प्रदेश स्तरीय बनाउने सोचले अक्षयकोषको सुरुआत गरिएको हो ।

सुनसरी खेलकुद सघका अध्यक्ष नवीन राई खेलाडीहरूको हितकै पक्षमा टुर्नामेन्टहरु रेट अनुसार नै भइरहेको बताए । खेलाडी उत्पादन गर्न प्रत्येक स्कुलमा स्कुल लेभल कोच राख्न थालिएको छ ।

पूर्व खेलाडीहरूलाई खेल जीवनपछि अवसर सिर्जना गर्न स्कुलहरूमा प्रशिक्षकको नियुक्ति थालिएको बताउँदै उनले न्यूनतम आर्थिक उपार्जनका लागि सुनसरी सघले पहल कदमी गरिरहेको बताए ।

पत्रकार सम्मेलनमा धरान फुटबल क्लबका महासचिव प्रताप तामाङ, एन्फा एकेडेमी इन्चार्ज गोपाल कर्की फुटबल खेलाडीहरूको उपस्थिति थियो ।