इटहरी : कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग सहित आन्दोलनरत पहिचानवादीहरूले आइतबार आह्वान गरेको बन्दको प्रभाव शून्य देखिएको छ । बन्द गराउँदै हिँडेका पहिचानवादी अगुवाहरूलाई प्रहरीले पक्राउ गरेपछि सवारी बन्द निश्प्रभावि बनेको हो ।

सुनसरीमा मात्रै यातायात बन्द गराउँदै हिँड्ने १८ जना पहिचान पक्षधर कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका मुख्य सहरहरू धरान र इटहरीमा यातायात बन्द गराइरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।

कोशी प्रदेशको नाम परिवर्तन गरेर पहिचानको आधारमा नामकरण गर्नुपर्ने उनीहरूको माग छ । यसअघि पक्राउ परेका पहिचानवादी कार्यकर्ताको निसर्त रिहाइको माग गर्दै ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बन्दको आह्वान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीका अनुसार जबरजस्ती सडक अवरोध गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका पहिचानवादी माथि अनुसन्धान भइरहेको उनले बताए । हाल सुनसरीका सम्पूर्ण सडकमा यातायातका साधन विना अवरोध सञ्चालन भइरहेको उनले जानकारी दिए ।

पहिचानवादीहरूले नेकपा एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्नेगरि कार्यक्रम निर्धारण गरेका थिए । एमालेले मध्यपहाडी क्षेत्रमा सुरु गरेको अभियानलाई पहिचानवादीले अवरोधको प्रयास गरेका हुन् । सोही क्रममा खोटाङ र भोजपुरमा सामान्य अवरोध गरेका थिए । एमालेले पहिचानको विरोध गरेको भन्दै किराँती तथा लिम्बुवान् पक्षधरहरूले विरोध जनाउँदै आएका छन् ।