धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय सरकार सञ्चालन ऐन २०७४, बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४ ले निर्दिष्ट गरेको अधिकार भन्दा बाहिर गएर प्रशासन महाशाखाको लेटर प्याडमा क्षेत्राधिकार उल्लङ्घन गर्दै प्रमुख प्रशासकीय अधिकृतको काम गरेकोमा कार्यपालिका सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् ।

उपमहानगरपालिकाका २८ जना कार्यपालिका सदस्यहरूले बुधवार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङको कार्यशैली र प्रशासन महाशाखाको लेटरप्याडमा क्षेत्राधिकार उल्लङ्घन गर्दै उनले जेठ २७ गते बैठकका लागि गरेको पत्राचार प्रति आपत्ति प्रकट गरेका हुन् ।

नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृत सँग समन्वय नै नगरी पत्राचार गर्नु, नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने खबर हुँदा पनि हतारमा कार्यपालिका बैठक बोलाउनु ऐन नियम विपरीत भएको उनीहरूले बताएका छन् ।

कार्यपालिका सदस्यहरूले जेठ ३१ गते बोलाइएको कार्यपालिका बैठक स्थगित गरी ऐनले तोकेको प्रक्रिया पुरा गरी कार्यपालिका बैठक बोलाउन अनुरोध गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन तथा बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४ अनुसार नगरप्रमुखको निर्देशनमा कार्यकारी अधिकृत मार्फत बैठक आव्हान गर्ने तथा सूचना प्रवाह गर्ने, कार्यपालिका बैठकको सचिवको भूमिका पनि कार्यकारी अधिकृतले गर्नुपर्ने उल्लेख छ ।

उक्त क्षेत्राधिकारको जानकारी सम्म नगरप्रमुखलाई नहुनु आफैमा लज्जास्पद भएको कार्यपालिका सदस्यहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राज्यले तिनै तहको सरकार सञ्चालन गर्न छुट्टाछुट्टै अधिकार प्रत्यायोजन गरेको भएता पनि  मेयर साम्पाङले राज्यको कानुन, नीति, ऐन र प्रक्रिया विपरीत मनोमानी ढङ्गले कामहरू गर्दै आएको आरोप लगाइएको छ ।

मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिनु, दैनिक आर्थिक कार्यका चेकमा हस्ताक्षर गर्न नदिनु, कर्मचारी सरुवा गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई भए पनि त्यो अधिकार मिच्दै प्रमुखले आफूखुसी कर्मचारी सरुवा गरी गैर जिम्मेवारी कार्य गरेको उनीहरूको आरोप छ ।

नेपाल सरकारबाट तोकिएको २०५ फिटको मापदण्डबाट राजमार्गको मापदण्ड ७२ फिट कायम गर्ने भन्ने विषयमा कार्यपालिका हलमा कार्यपालिका सदस्यहरूबिच छलफल भएको बताउँदै उपमहानगरपालिका प्रवक्ता वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराईले भने ‘सरकारलाई अनुरोध, सिफारिस गर्न सकिन्छ तर निर्णय गरेका होइनौँ, हामीले निर्णय गरेका छैनौँ ।’

उनले नेपाल सरकारको निर्णयलाई कार्यपालिका सदस्यहरूले उल्लङ्घन नगरेको मेयर साम्पाङले उल्लङ्घन गरेको बताउँदै भने ‘कार्यपालिका बैठकमा सुरुमा माईन्युट हुने निर्णय भएपछि हस्ताक्षर नहुने भएकाले मेयर साम्पाङले निर्णय भएको हो भनेका हुन तर निर्णय हामीले गरेका छैनौँ ।’

मेयर साम्पाङको एकल निर्णयलाई कार्यपालिका सदस्यहरूले नमान्ने उनले स्पष्ट गरे।

वडाध्यक्ष भट्टराईले मेयर साम्पाङले आफै प्रशासकीय प्रमुख बनेर ४० देखी ५० जना अभियन्तालाई जागिर खुवाएको आरोप समेत लगाएका छन् । उनले भने ‘यो उहाँको एकल निर्णय हो ।’ बजेट निर्माण गर्ने बेला भइसक्दा अहिले सम्म राजश्व परामर्श समिति र कार्यपालिकामा छलफल नभएको बताए ।