धरान : कुवेतको एक आवासीय बिल्डिङमा बुधवार बिहान आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ४९ जना पुगेको छ । मृत्यु हुनेमा कम्तीमा ५ जना भारतीय कामदार भएको पनि छन् ।

बीबीसीले जनाए अनुसार कुवेत स्थित नेपाली राजदूत घनश्याम लम्सालले उक्त भवनमा नेपाली कामदारहरू पनि बस्दै आएको बताएका छन् । आगलागीको घट्नामा घाइते नेपालीको पहिचान सार्वजनिक गरिएको छैन ।

बीबीसीलाई राजदूत लम्सालले भने ‘पाँच जनामा दुई जना सुरक्षित छन्, तिन जना घाइते भएका छन् ।’ राजदूतावासको टिम उनीहरूको स्थिति बुझ्न अस्पताल गएको राजदूत लम्साले बताएको समाचारमा उल्लेख छ ।

कुवेत सिटीको मंगाफ इलाका स्थित उक्त ६ तले भवनमा प्रायः वैदेशिक रोजगारीमा बाहिरबाट गएको कामदारहरू बस्ने गरेको बताइएको छ । आगलागी किचनबाट सुरु भएको थियो ।

कुवेती गृह मन्त्रालयका प्रवक्ता मेजर जनरल ईद अल-अवेहानले सरकारी टेलिभिजनलाई बताए अनुसार आगलागी बुधवार बिहान ६ बजे भएको थियो । उनले आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको बताए । घट्नामा कमसेकम १५ जना घाइते भएको छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।