धरान : सञ्चारकर्मी सञ्जिता धमलालाई आज बुधवार दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रामक गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरे लगत्तै उनीहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । पक्राउ परेकाहरू म्याद थपको क्रममा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताए । उनका अनुसार म्याद थप भएर मात्र नाम सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

सञ्चारकर्मी धमला उपचार गराउन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन् । उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा भनेकी छन् ‘म बिरामी अवस्थामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले  ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए ।’

धमलाले मोबाइल खोस्ने प्रयास समेत गरेको उल्लेख गर्दै भनेकी छन् ‘सार्वजनिक क्षेत्र अस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो हिंसात्मक आचरणले केवल मेरो शारीरिक अवस्था मात्र होइन, मानसिक अवस्थालाई पनि ठुलो धक्का दिएको छ ।’

‘म बिरामी अवस्थामा उपचारको लागि पुगेको थिएँ । यस्तो अवस्थामा हिंसात्मक आक्रमणको सामना गर्नु, त्यो पनि सार्वजनिक स्थानमा, कुनै पनि व्यक्तिको लागि सहन गर्न गाह्रो नै हुन्छ । अस्पताल भनेको उपचारको लागि, शान्तिको लागि र सुरक्षित ठाउँ हो । तर, यहाँ उल्टै असुरक्षित महसुस गरायो ।’ उनले लेखेकी छन् ।