झापा : झापाको बिर्तामोडस्थित प्रभु बैङ्कको शाखामा मुद्दतीमा राखिएको एक करोड बढी रकम अवधि पूरा भएपछि झिक्न जाँदा नरहेको पाइएको छ ।

उक्त बैङ्कमा झापा बिर्तामोड-७ की मञ्जु नेपालको नाममा रहेको खातामा ०१२०२२७२६०७०००४२ नम्बरको खातामा छ महिनाका गत जनवरी १६, २०२४ मा लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ बैङ्कमा राखेको जनाइएको छ ।

उक्त रकमको अवधि समाप्त भएपछि लिन जाँदा खातामा जम्मा २ लाख रुपैयाँ मात्र भएको बैङ्कका कर्मचारीले बताएको मञ्जुका श्रीमान् टिकाराम नेपाल (नेती)ले बताए । बैङ्कमा जम्मा गरेको सबै कागजात आफूसँग रहे पनि खातामा रकम नदेखिएको उनको भनाइ छ ।

बैङ्कका कर्मचारी प्रमोद सिटौलाले आफूलाई पैसा जम्मा गरेको भौचर पठाउने गरेको बैङ्कबाट पीडित हुनुभएका नेतीले बताए । बैङ्कका कर्मचारी सिटौलालाई सम्पर्क गर्दा तपाईँ चिन्ता नगर्नोस् भनेको र पैसा पाउनुहुन्छ भन्दै विश्वस्त बनाएर हिजोदेखी सम्पर्कविहीन भएको पीडितको गुनासो छ ।

कर्मचारी सिटौला र बैङ्क विरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा ठाडो उजुरी समेत दिइसकेको नेपालले जानकारी दिए ।

उता, बैङ्कका शाखा प्रमुख गणेशबहादुर बरालले केन्द्रीय कार्यालयमा जानकारी गराइसकिएको बताउनुभएको छ । केन्द्रबाट आज (बिहीबार) छानबिन टोली आउने र थप अनुसन्धान गर्ने उनले बताए । कानुनी बाटोबाट समस्याको समाधान हुने उनको भनाइ छ ।

Bank-Deposit-slip-