धरान : धरान उपमहानगरपालिकाका निर्वतमान मेयर तिलक राईले धरान खानेपानी व्यवस्थापन बोर्ड आफ्नो कार्यकाल र तारा सुब्बाको कार्यकालमा वैधानिक रहेको तर, अहिलेको बोर्ड अवैधानिक रहेको बताएका छन् । उनले भने ‘जुन तरिकाले बोर्ड चलिरहेको छ त्यो अवैधानिक छ ।’

खानेपानी बोर्डले हर्क साम्पाङलाई चिन्दैन :

दश दलको बिहीबार आयोजित अन्तरक्रियामा उनले भने ‘खानेपानी बोर्डले हर्क साम्पाङलाई चिन्दैन, तर उनको पदलाई आधिकारिकता दिँदै अध्यक्ष मानेको हो ।’ व्यक्ति साम्पाङलाई अध्यक्ष मानेको होइन । उनले भने ‘नगर प्रमुख बोर्ड अध्यक्ष भएको २ वर्ष भयो, तर कुनै दिन पदाधिकारी बैठक बसाउनु भएको छैन ।’

धरानको सवालमा धरान उपमहानगरपालिकाले एडिबीसँग ऋण लिएको हुँदा स्वतः धरानको नगर प्रमुख बोर्ड अध्यक्ष हुने व्यवस्था रहेको बताउँदै उनले भने ‘हाल बोर्डमा कुनै पनि पदाधिकारी छैनन् तर पनि पदेन सदस्यलाई समेत बैठकमा बसाएका छैनन् ।’

ऋणको भार रहिन्जेल बोर्ड अध्यक्षमा नगर प्रमुख कार्यकारी रहने व्यवस्था रहेकाले स्वतः बोर्ड अध्यक्ष नगर प्रमुख रहने र मान्नु पर्ने व्यवस्था भएको उनको भनाई छ । राईले पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङवोको उपभोक्ता समितिबाट बोर्ड अध्यक्ष बनाउने कुराप्रति टिप्पणी गर्दै भने ‘बोर्ड अध्यक्षमा स्वतन्त्र मान्छे अध्यक्ष हुँदा यो हविगत भयो अव उपभोक्ता समितिबाट अध्यक्ष बनाउँदा लगाम विनाको घोडा हुनसक्छ ।’

बोर्ड अध्यक्ष राजनीतिक संस्कार भएको बन्नु पर्छ :

राजनैतिक संस्कार भएका राजनीतिक व्यक्तिलाई नै अध्यक्ष बनाउनु पर्ने बताउँदै राईले भने ‘दलको भए कार्यकर्ता र केन्द्र देखिनै सल्लाह सुझाव सँगै लगाम लगाउन सकिन्छ ।’ स्वतन्त्र व्यक्ति हुँदा कसैलाई लगाम लगाउन नसकिने उनको भनाई छ ।

निर्वतमान नगर प्रमुख राईले भने ‘हामीलाई भ्रष्ट्राचारको आरोप लगाउने हर्क साम्पाङले भ्रष्टाचारको प्रमाण निकाल्नुस् भन्दा आज सम्म निकालेका छैनन् ।’ साम्पाङले कार्यपालिकामा घुर्क्याउनका लागि र कहीँ अप्ठ्यारो परिस्थितिमा मात्र भ्रष्टाचारको फायल पल्टाउने कुरा गरेको तर अहिले सम्म कुनै प्रमाण बाहिर ल्याउन नसकेको बताए ।

उनले पटक पटक साम्पाङको थेगो सापट लिएर ‘म त छक्क पर्छु ?’ भन्दै आफै कार्यपालिकाको बैठक राख्न नसक्ने, आफै कार्यभार सम्हाल्न नसक्ने अनि आफै आरोप प्रत्यारोप लगाउँदै काम नगरी बस्ने त्यस्तो नि हुन्छ ? भनी प्रश्न गरे ।

नो मेन्स एरियामा पार्क बनाउनु गलत :

निवर्तमान नगर प्रमुख राई भने जलाधार क्षेत्र ‘नो मेन्स एरिया हो ।’ नगर प्रमुख साम्पाङले थाहा भएर पनि नपाए जस्तो गरी नो मेन्स एरियामा किन जे पायो त्यही बनाउँदै हिँडेका छन् ? भनी प्रश्न गरे ।

सर्दु खोलामा आफ्नै कार्यकालमा वीपी पार्कको डिपीआर बनेको स्मरण गराउँदै उनले भने ‘त्यसरी जहाँसुकै जेसुकै काम गर्न मिल्ने भए त्यसै बेला नै त्यहाँ भौतिक निर्माणका कार्य गर्ने थिएँ ।’

नगर प्रमुख साम्पाङले श्रमपार्क लगायत विभिन्न पार्क बनाएको स्थल नै ‘नो मेन्स एरिया’ भएको निवर्तमान मेयर राईको भनाई हो । उनले भने ‘बिपी पार्क एरियामा नो मेन्स एरिया भएको कारणले हामीले कुनै भौतिक पूर्वाधार निर्माण नगरेका हौँ ।’

हर्क साम्पाङ अभियन्ता हुँदा कठिन अवस्थामा पनि सहयोग गरेको उल्लेख गर्दै उनले भने ‘तर  उनलाई कार्यकक्षमै गएर पूर्व जनप्रतिनिधीहरुको साथ सहयोग हुन्छ समन्वय गर्नुस् भन्दा समेत आज सम्म समन्वय गरेका छैनन् ।’

उल्टै पूर्व मेयरहरूले भ्रष्ट्राचार गरेकाले खानेपानीको महसुल बढाएको भन्दै एकल निर्णयले महसुल बढाएको कारण आज विरोध गर्नु परेको उनले बताए । भने ‘तर विरोध गर्‍यो भन्दैमा भष्ट्रचारको फाइल पल्टाउन नछोडनुस हामी कारबाही भोग्न तयार छौँ छिटो फाइल पल्टाउनुस् ।’

आफ्नै कारण साम्पाङ एक्लिँदै :

पूर्व जनप्रतिनधिहरुले दुःख गरेर ल्याएको घुम्ने कुर्सीमा बस्न पाएको हर्क साम्पाङ आज आफ्नै कारण एक्लिँदै गएको उनले बताए । 

जनताको कुरा नसुनेर आफ्नो खुट्टामा आफै बन्चरो हानेका छन् । उनले भने ‘कसैले एडिबीको ऋण बोकाएर धरानेलाई ऋणको भरी बिसाउन खोजेको होइन खानेपानी समस्या समाधान गर्न ऋण लिएकै हो कार्य गर्न खोज्दा उनै साम्पाङले विभिन्न कार्य गर्दै मुद्दा र मामिला गरेका कारण एडिबीको कार्य सम्पन्न गर्न ढिला भएको हो।’

ऋणको भार बोकाएर पूर्व जनप्रतिनिधि पन्छिन खोज्ने होइन । पूर्व प्रमुख तारा सुब्बा र आफूले धरानेलाई ऋणको भार बोकाएर घर बनाउन लगेको रकम होइन भन्दै उनले चुनौती दिदैं भने ‘हामीलाई भ्रष्टाचारको आरोप लगाएको दुई वर्ष बितिसक्यो पुष्टि गर्ने हो चाँडो पुष्टि गर्नुस् ।’

धरानेलाई सधैँ भ्रम छरेर सामाजिक सञ्जालमा स्टण्टबाजी मात्र नगर्नुस् भन्दै निवर्तमान मेयर राईले भने ‘हर्क साम्पाङ केवल भ्रम मात्र हुन उनले भ्रम सृजना गर्नु बाहेक केही गर्न जानेका छैनन्, भ्रमको पछि कोही नलाग्नुस् ।’