धरान : राजनैतिक दलहरूले खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको शुल्क, महसुल खारेज गरी पुरानै दर यथावत् राख्न माग गर्दै बोर्डको कार्यालयमा आज आइतबार ताला लगाएका छन् ।
बोर्ड अध्यक्ष हर्क साम्पाङको कार्यकक्ष, निर्देशक राजु पोख्रेल सहित आर्थिक प्रशासन कार्यकक्षमा ताला लगाइएको हो ।
दलहरूले भोली सोमबार १० बजे सम्म आन्दोलनलाई सम्बोधन नभए बोर्डको धरानमा रहेका ३ वटै महसुल बिल काउन्टरमा ताला लगाउने उद्घोष पनि गरेका छन् ।
धरानका १० राजनीतिक दलहरूको आव्हानमा आयोजित विरोध र्‍याली सिंहदेवी चौकबाट छाता चौक हुँदै खानेपानी कार्यालय पुगेको थियो । वृहत् सहभागी रहेको र्‍याली खानेपानी कार्यालयमा पुगी धर्नामा परिणत भएको थियो । 
र्‍यालीमा जनता मार्न पाइँदैन, ९९सय प्रतिशत वृद्धि फिर्ता गर, अवैधानिक निर्णय खारेज गर, महसुल वृद्धि खारेज गर, जनताको ढाड सेक्न बन्द गर, जस्ता नारा लगाइएको थियो ।
धर्नामा नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेलले शुल्क वृद्धिदर खारेज गरी तुरुन्त पुरानै दर यथावत् राखी आन्दोलनरत पक्षसँग वार्ता बस्न आग्रह गरे । उनले वार्ताद्वारा समस्या समाधान गरेपछि मात्र ताला खोलिने बताए ।
सभापति पोखरेलले भने ‘पुलिस प्रशासन र कर्मचारीले जबरजस्ती ताला खोले त्यसको परिणाम ठिक हुँदै र परिणामको जिम्मा खानेपानी बोर्ड अध्यक्ष र खानेपानी बोर्डका कार्यकारी निर्देशकले लिनु पर्नेछ ।’
ताला लगाएको कारण देखाई खानेपानी वितरणमा प्रभाव पारे जनताले बोर्ड अध्यक्षलाई नचिन्ने र थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।
नेकपा माओवादी धरान इन्चार्ज चोत्लुङले खानेपानी बोर्डका ‘स्वघोषित अध्यक्ष’ भनेर सम्बोधन गर्दै  चेतावनी दिए ‘शुल्क वृद्धिले जनताको ढाड सेक्ने काम गरेको छ, वृद्धि गरेको शुल्क खारेज नगरे जनताले अब छोड्नेवाला छैन ।’
उनले अध्यक्ष साम्पाङलाई भेडेटार छेउको जङ्गलमा गएर चिसोमा ठण्डा दिमागले सोचेर दलहरूसँग वार्तामा बस्न आग्रह गरे ।
बोर्ड राजनैतिक दलहरूले ५० करोड ऋण बोकाएर खानेपानीको महसुल बढाएको भन्ने साम्पाङको भनाई गैर जिम्मेवार भएको बताउँदै उनले प्रश्न गरे ‘खानेपानी बोर्डको आय व्यय कति हो ? खानेपानीको आम्दानी रकम १७ करोड ५० लाख रुपैयाँ कहाँ र कता जाँदैछ ?’
जनताको धारामा कति पानी पुगेको छ ? करिब २ करोड लिटर पानी उत्पादन भइरहेको भनेर ७० लाख पानी कता गइरहेको छ ? करिब १ करोड ३० लाख पानी मात्र धारामा पानी आएको उनले दाबी गरे ।
नेवार एकता समाज अध्यक्ष, पत्रकार महेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टी केन्द्रीय सदस्य अमर ईजम लगायतले बोलेका थिए । उनीहरूले महसुल र विभिन्न सेवा शुल्कको दर ह्वात्तै बढाएकोमा उपभोक्ताहरूको आपत्ति रहेको बताए ।
भोली ३ वटा बिल काउन्टरमा ताला लगाइने : 
भोली सोमबार १० बजे सम्म आन्दोलनलाई सम्बोधन नभए १० वटै राजनैतिक दलहरूले धरानमा रहेका ३ वटै खानेपानीको बिल काउन्टरमा ताला लगाउने भएका छन् ।
खानेपानी व्यवस्थापन बोर्डको धरान १५, धरान-१६ र धरान-११ स्थित बिल काउन्टरमा ताला लगाइने भएको हो । बिल काउन्टरमा तालाबन्दी गरेपछि पनि आन्दोलनलाई सम्बोधन नभए आम धरानवासी जनतालाई महसुल बिल नतिर्न अपिल गरिने माओवादी नेता चोत्लुङले बताए ।
उपमेयर सहित २० वटै वडाध्यक्षले बोर्ड अध्यक्ष साम्पाङलाई बुझाए ध्यानाकर्षण पत्र :
धरानको खानेपानीमा अत्यधिक अवैज्ञानिक ढङ्गले बढाएको शुल्क महसुल खारेज गरी पुरानै दर यथावत् राख्न माग गर्दे धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा सहित वडाअध्यक्षहरुले अध्यक्ष हर्क साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरूले र्‍याली सुरु हुनु भन्दा अघि नगर प्रमुख हर्क साम्पाङको कार्यकक्षमा गएर शुल्क वृद्धिको  निर्णय तुरुन्त फिर्ता गर्न माग गर्दे ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्र लिएर उपमेयर बेघा सहित वडा १५ का अध्यक्ष नरेश इवारम, १७ का अध्यक्ष तथा प्रवक्ता सूर्यबहादुर भट्टराई मनोज र १८ का अध्यक्ष नरेन्द्रकुमार राई प्रवीण नगर प्रमुख साम्पाङको कार्यकक्षमा पुगेका थिए ।
यसअघि शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै १० राजनैतिक दलले शुक्रवार २० वटै वडामा ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यस अघि पहिलो चरणको कार्यक्रम स्वरूप दलहरूले खानेपानी बोर्ड गएर महसुल यथावत् राख्न ७२ घण्टे अल्टिमेटम दिएका थिए ।Khanepani-Andalon2Khanepani-andalon-3