इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध अहिले आन्दोलन जारी छ । धरान खानेपानी बोर्डका अध्यक्ष समेत रहेका साम्पाङले खानेपानी महसुलमा अत्यधिक वृद्धि गरेपछि स्थानीय राजनीतिक दल, नागरिक समाज र विद्यार्थी सङ्गठनहरू आन्दोलनमा उत्रिएका हुन् ।

एक साता देखि जारी आन्दोलनको मुख्य मुद्दा खानेपानी महसुलमा भएको अत्यधिक वृद्धि हो । दुई इन्च सम्मको खानेपानी पाइप जोड्न एक लाख लाग्ने गरी साम्पाङले शुल्क बढाए । त्यस बाहेक ९ हजार ९ सय प्रतिशत सम्म महसुल वृद्धि विरुद्ध राजनीतिक दल तथा नागरिक समाजले आन्दोलनको आह्वान गर्‍यो । बोर्डको कार्यालयमा तालाबन्दी गरेका आन्दोलनरत समूहको मागलाई मेयर साम्पाङले बेवास्ता मात्र हैन अपमान गरिरहेका छन् । 

भाडामा बस्ने विद्यार्थीलाई समेत महसुलले प्रभावित पारेको भन्दै विद्यार्थी सङ्गठनहरू आन्दोलनमा होमिएका छन् । विद्यार्थी सङ्गठनको आन्दोलन आक्रामक हुँदै गएपछि दलहरूले समेत साथ दिएका छन् । आन्दोलन आवरणमा महसुल वृद्धि विरुद्धको भए पनि वास्तविकतामा मेयर साम्पाङका गतिविधि प्रतिको चेतावनी जस्तो देखिएको छ । विगतमा साम्पाङले दलहरू प्रति देखाएको असहिष्णु व्यवहार र धराने जनता सबै आफ्नै पक्षमा भएको भाष्य निर्माण गर्ने लागेका साम्पाङलाई वास्तविकता देखाउने बलियो आधार बन्यो आन्दोलन । 

लामो समय मेयरका हरेक गतिविधिलाई ढाकछोप गरेका र श्रम अभियानमा समेत सहभागी भएका उपमेयर आइन्द्र विक्रम बेघा आफै आन्दोलनमा सहभागी भए । मेयर साम्पाङका समर्थकहरू एकपछि अर्को विवादमा आउने र केही हिरासतमा थुनिएकाले पनि साम्पाङ हच्चीएका छन् । धरानमा पानीको आपूर्ति सहज नहुनु र महसुलमा अध्याधिक वृद्धि हुनुले विगतमा साम्पाङ्ले गरेका प्रतिबद्धता विपरीत भएको आम बुझाइ छ । सोही कारणले पनि आन्दोलनमा जनसमर्थन बढ्दै गएको छ । 

विवाद बढाउन सिपालु  

हर्क साम्पाङ नक्कली माओवादी भएर भन्दै पैसा उठाएको भेटेपछि भाटे कारबाही समेत गरेको माओवादीका नेता कार्यकर्ताहरूले बताउने गरेका छन् । त्यसपछि बिदेसिएका उनी लामो समय पछि धरान फर्किएका हुन् । धरानमा ट्युसन सेन्टर चलाएका उनी त्यही बिचमा सामाजिक अभियानमा जोडिए । मुख्यतः खानेपानीको समस्यालाई उचालेर एडिबी विरुद्ध आन्दोलन चर्काए । दलहरू विरुद्ध खबरदारी गर्दै बारम्बार जनप्रतिनिधिको निर्वाचनको उम्मेदवार बने । अन्ततः २०७९ को निर्वाचनमा पानीको मुद्दा बोकेर मेयरमा विजयी भए । 

उनी विजयी भए लगत्तै सामाजिक सञ्जालमा दैनिक ३० वटा सम्म पोस्ट गर्न थाले । दलहरू विरुद्ध खनिएका उनी आत्मप्रशंसामा रमाउन थाले । श्रम अभियान चलाएका उनले गिट्टी कुट्ने र ढुङ्गा बोक्ने कामलाई ऐतिहासिक उपलब्धि माने । फेसबुकबाट नै श्रमदानको आह्वान गरेर चर्चा कमाए । त्यही बिचमा राजनीतिक दलहरू प्रति कटाक्ष गर्न छाडेनन् । 

जसले दलका नेता तथा कार्यकर्तालाई मानसिक दबाब बढायो । बाल गोपाल मन्दिर र चर्चको विवादमा साम्पाङले हिन्दु धर्म विरुद्ध दिएको अभिव्यक्तिले आन्दोलन चर्कियो । धार्मिक विवादमा साम्पाङले समन्वयात्मक भूमिका निर्वाह गर्नुको साटो उचाल्ने काम गरेपछि धरानमा निषेधाज्ञा जारी गर्नुपरेको परेको थियो । ‘कुन जाति समुदाय गाली गर्दै नीच हर्कत गर्न उत्रँदो रैछ म गन्दै छु । बेला आए पछि आउनेछ मेरो अभिव्यक्ति’ भन्ने सम्मको टिप्पणी गरे । 

धरानका पर्यटन व्यवसायी एवम् पूर्व वडाध्यक्ष रोशन अधिकारीको जमिनमा नगर प्रहरी र समर्थक परिचालन गरेर उनले वृक्षारोपण गरे । विभिन्न भिडियो र स्ट्याटस मार्फत सर्दु जलाधार क्षेत्रको जग्गा हडप्न खोज्ने र पानीको मुहान अतिक्रमण गरेको भन्दै अधिकारीलाई अपमान गरे । सोही बदला लिन अधिकारीले साम्पाङलाई जुत्ताको माला लगाइदिने भन्दै महसुल विरुद्धको आन्दोलनमा सहभागी भएका छन् । 

आन्दोलनको अगाडी निरीह भएका साम्पाङ तत्कालै महसुल फिर्ता लिने ध्याउन्नमा छैनन् । बरु आन्दोलन र मुठभेड चर्काउने तर्फ लागेका छन् उनी । यसअघि कार्यपालिकामा विवाद हुँदा वडाध्यक्षहरूलाई गाली गरे । लामो समय कार्यपालिका बैठक प्रभावित भएपछि आत्मालोचना गर्दै पुनः बैठक सञ्चालन भयो । तर बारम्बार दलबाट निर्वाचित जनप्रतिनिधिप्रति उनी गलत धारणा विकास गराउन उद्धत छन् ।  

सञ्चारकर्मी सञ्चिता धमलाले नगरमा यौन धन्दा बढ्दै गएको, जनप्रतिनिधिहरूले आर्थिक प्रलोभनमा परेर गैर कानुनी रूपमा नागरिकताका लागी सिफारिस गरेको जस्ता प्रश्न गरेको विषयमा उनले मुठभेड गराए । साम्पाङका समर्थकले धमलालाई अस्पतालमै गएर हातपात समेत गरे । धरानमा अराजकता मच्चाउने समूहलाई पक्राउ गर्दा उनी रिसाउने र प्रहरी प्रशासन विरुद्ध नै लाग्ने गरेका छन् । 

यसबाट पनि प्रस्ट हुन्छ साम्पाङ द्वन्द्व चाहन्छन् । ताकी थप प्रश्नको जवाफ दिनु नपरोस् । प्रश्नबाट भाग्न चाहन्छन् उनी । पर्याप्त पानी पुर्‍याउन नसकेको आरोपलाई विषयान्तर गर्नु र महसुल बढाएको विषयलाई ओझेलमा पार्नु उनको उद्देश्य हो । धरानबाट व्यवसायीहरू सर्दै गएको, लगानीको वातावरण बिग्रँदै गएको देखी रोजगारीका अवसरहरू खुम्चिँदै गएको सवालमा उनी नाजवाफ छन् । 

त्यस्ता विषयमा आवाज उठ्नु अगावै श्रम संस्कृति देखी भ्रष्टाचार विरुद्धको लोकप्रिय नारा लिएर उनले माहौल आफ्नो पक्षमा पार्ने गरेका छन् । मुख्यतः सामाजिक सञ्जालको लोकप्रियताको आडमा हर्क साम्पाङले विभिन्न हर्कत गर्ने गरेका छन् ।