धरान : धरानका नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघा बिच आज शुक्रवार एक कार्यक्रममा घोचपेच चलेको छ । 
आदिवासी जनजाति महासङ्घ धरानको आदिवासी दिवसमा  मेयर साम्पाङ प्रमुख अतिथि थिए, उपमेयर बेघा विशिष्ट अतिथि थिए । 
माओवादी पार्टीबाट निर्वाचित उपप्रमुखलाई घोचपेच हुने गरी प्रमुख साम्पाङले भने 'दल छैन भनेर मलाई हेपेको हो ?’
उनले खानेपानीको विषयमा दलहरूले बिना कारण खैलाबैला मात्र मच्चाएको बताउँदै उपमहानगरपालिकाको गेट तोडफोड गर्ने दलहरूलाई तह लगाउने बताए । 
मेयर साम्पाङ भन्दा अगाडी कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख बेघाले भनेका थिए ‘जहाँ पायो त्यही चोक चोक र टोल टोलमा झगडा गरेर मात्र धरान विकास हुँदैन ।’ उनले एकल निर्णय र मुडे बलले धरानको विकास गर्न नसकिने बताए ।
बेघाले भने ‘जिउँदो मान्छेलाई हार्दिक श्रद्धाञ्जली भनेर आउने गरेको कथित मान्छेहरूले गर्दा आदिवासी जनजातिको अधिकारहरूलाई कानुनहरूले कुण्ठित गर्न खोजेको छ ।’
उनले संविधानमा सबैको अधिकार समान भएको उल्लेख गरिएको भए पनि कानुनहरूले ती अधिकार कुण्ठित गरेको बताए । उनले भने ‘संविधान पूर्ण नभएकोले व्यवस्था पनि पूर्ण अधिकार सम्पन्न भएको छैन ।’
तर सङ्घीय गणतान्त्रिक व्यवस्थाको रक्षा गर्दै अझ परिष्कृत बनाउन अघि बढ्नु पर्ने दायित्व र जिम्मेवारी सबैको काँधमा रहेको बताए । आदिवासी जनजाति, महिला र पछाडि परेका उत्पीडित वर्गहरू भ्रममा परेर व्यवस्थाको विरुद्ध प्रयोग हुनु हुँदैन भनी उनले आग्रह गरे।
महासङ्घका पूर्व जिल्ला अध्यक्ष सुजेन्द्र गोलेले धरानका आदिवासी जनजातिको हक र अधिकार सुनिश्चितताका लागि उपमहानगरपालिकाले कुनै कार्यक्रम नल्याएको बताए ।
महासङ्घ नगर अध्यक्ष सुवास हुक्पा चोङवाङको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन सचिव हेमराज जिमीले गरेका थिए ।